८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विकास निर्माणका कार्य व्यवस्थित नहुँदा स्वच्छ खानेपानीबाट उपभोक्ता बञ्चित भए



चेतन विष्ट, चारनम्बर ।
नगरबाट सञ्चालन भएका विभिन्न विकास निर्माणका कार्य अस्तव्यस्त रुपमा सञ्चालन हुँदा बाणगंगाकाबासी स्वच्छ खानेपानीबाट बञ्चित हुन पुगेका भन्दै बाणगंगा र गजेहडा भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नगरको ध्यानाकर्षण गरेको छ ।

बाणगंगा नगरपालिकाले सडक निर्माण लगायत विभिन्न विकासका निर्माणका कार्य गर्दा आफुहरुसँग कुनै पनि समन्वय नगरी अव्यवस्थित रुपमा कार्य गर्दा खानेपानीका पाइपहरु काटिएको भन्दै ध्यानआकर्षण गराएको हो ।

‘शुद्ध खानेपानी मानिसको मौलिक हक समेत हो त्यसैले जनतालाई सफा र शुद्ध खानेपानी पुर्याउनु नगरको पनि कर्तव्य हो । यसका लागि नगरले हाम्रो संस्थालाई पनि एक पटक सूचित गरी अगाडि बढ्दा राम्रो हुनेछ’ पत्रमा भनिएको छ ।

कुनै सल्लाह विना यसरी कार्य गर्दा आफ्नो संस्थालाई त्यसको व्यवस्थापनमा ठुलो आर्थिक समस्या आइपरेकाले नगर र खानेपानी संस्था दुबैले उचित समन्वय र सहकार्य गर्दा राम्रो हुने भएकोले ध्यान आकर्षण गरेको पत्रमा भनिएको छ ।

नगरले विकास निर्माणका कार्य गर्दा वातावरणका सम्पुर्ण कुरालाई ध्यान दिएर त्यहाँ अवस्थित संघ-सस्थासँग सहकार्य गर्दा मात्र विकास दिगो बन्न सक्ने भएकाले अबका दिनमा खानेपानीसँग सम्बन्धित कुनै पनि कार्यमा आफुहरुसगँ पनि समन्वय र सहकार्य गर्ने अपेक्षा बाणगंगा र गजेहडा भु पु सैनिक खानेपानी तथा सरसफाई समितिले नगरसंग लिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  १० : १९ बजे