मायादेवी अनलाइन, चारनम्बर ।
पछिल्लो समय कपिलवस्तुको बाणगंगा नगरपालिकाका युवामा साइक्लिङ (साइकल चढ्ने काम) प्रति आकर्षण बढेको छ । स्वास्थ्य तथा वातावरणीय हिसावले लागि साइकल चढाई निकै उपयोगी हुने भएपछि यस प्रति युवाहरुको आकर्षण बढेको हो ।
उसो त बाणगंगामा लामो समयदेखि साइकल चढ्ने गरिएको भए पनि अभियानको रुपमा सुरु हुन सकेको थिएन । अब साइक्लिङ अभियान नै चलाएर साइकलमैत्री नगर बनाई पर्यटन प्रर्वद्धन गर्ने गरी अगाडी बढेको सिद्धार्थ क्याम्पसका सहायक प्राचार्य तथा साइकलप्रेमी कमल पोख्रेलले मायादेवी अनलाइनलाई बताउनु भयो । केही समयअघि रुपन्देहीको सैनामैना नगरपालिकामा भएको कोरा साइक्लिङमा सहभागी भएपछि नगरमा अब अभियान चलाउने अवधारणा आएको पाख्रेलको भनाई रहेको छ ।
बाणगंगा नगरमा प्रशस्त पर्यटकीय गन्तव्य रहेकाले अब साइकलको माध्यमबाट भ्रमण गरी प्रचारप्रसार गर्ने पत्रकार तथा साइकलप्रेमी चन्द्रकान्त न्यौपानेले बताउनु भयो । ‘अहिले संस्था दर्ता भएको छैन अब चाँडै संस्था दर्ता गरी संगठित हुन्छौँ । यसमा सयौँ युवालाई समेट्ने लक्ष्य राखिएको छ, न्यौपानेले भन्नुभयो ।’ उहाँले नगरपालिकासंग सहकार्य गरी कोरो साइक्लिङ गर्ने लक्ष्य राखिएको पनि बताउनु भयो ।
चन्द्रकान्त न्यौपाने, कमल पोख्रेल, राम शुभागे थारु, लक्ष्मण खत्री, शुसान्त थापा, विष्णु घिमिरे, कृष्ण केसी, सुरेन्द्र घिमिरे, विष्णु न्यौपाने, लगायतले अहिले नियमित रुपमा विहान र बेलुका गरी साइकल चढेर बिभिन्न पर्यटकीय ठाउँहरुमा जाने काम गरिरहेका छन् ।
बाणगंगामा साइक्लिङ अभियान सुरु भएपछि अहिले साइकल किन्न युवाहरुको संख्या पनि बढिरहेको सरु साइकल स्टोर्स चार नम्बरका प्रोपराइटर विष्णु घिमिरेले मायादेवीसंग बताउनु भयो ।
उहाँले १५ हजारदेखि १ लाखसम्मका स्पोर्टस् साइकल विक्रि भइरहेको बताउनु भयो । महंगा साइकल खरिद गर्दा युवामा साइकलप्रतिको मोह कति छ ? भन्ने कुरा पुष्टि हुने उहाँको भनाई छ । बाणगंगामा मात्र होइन तौलिहवा र गोरुसिंगेमा पनि नियमित साइकल चढ्ने युवाहरु बढिरहेका छन् । अभियान सुरु भएपछि यहाँका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवी, ब्यवसायी, पत्रकार लगायतको रुची देखिएको छ ।
युवाहरुले पर्यटन पर्वद्धन गर्न कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यहरु तिलौराकोट, जगदिशपुर ताल, कपिलधाम, नन्दनगर, लक्ष्मणघाट, राजापानी, खारखानी लगायतका ठाउँमा रुट नै बनाएर नियमित रुपमा भ्रमण गर्ने मायादेवीसंग बताए । नियमित साइकल चढ्ने बानीले बिभिन्न रोगबाट मुक्त हुने, शरीरलाई तन्दुरुस्त राख्न सकिने, बातावरणीय प्रदुषण घट्ने लगायतका फाइदा हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया