८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृष्णनगरका मेयरको गुनासोः शिवराज अस्पतालप्रति प्रदेश र केन्द्र सरकारको चासो देखिएन



मायादेवी अनलाइन, कृष्णनगर ।
नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालमा अहिले बजेट अभाव र जनशक्ति अभावका कारण सेवा प्रभावित बनेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगंजमा वि.सं. १९९८ मा स्थापना भएको देश कै दोस्रो पुरानो अस्पताल अहिले बजेट अभावमा अलपत्र परेको हो ।

स्थानीय तहको निर्वाचनसंगै स्थानीय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकरण खरिदका लागि रकम नपुगेको शाहले बताउनु भयो ।

अस्पातलको स्तरउन्नती र प्राविधिक तर्फका लागि संघ र प्रदेश कहीँ कतैबाट सहयोग प्राप्त नभएको बताउदै शाहले नगरपालिकाको बजेटले अस्पताल संचालन गर्न नसकिने बताउनु भयो ।

१५ शैयाको शिवराज अस्पतालमा स्थायी दरबन्दी २८ भए पनि अहिले १ जना एमविविएस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले ३ जना एमविविएस डाक्टरको दरबन्दीमा १ जना, ल्याबमा २ जना, एक्सरेमा १ जना र एक जना स्टाफ नर्स मात्रै कार्यरत रहेका छन ।

नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ति गरि अस्पताल संचालन गर्दै आइरहेको छ । अस्पतालको प्रशासन शाखामा समेत कर्मचारी नहुँदा सेवा प्रभाव प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविएस डाक्टर मात्रैले कोरोनाका विरामी र अन्य विरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दी अनुसारको डाक्टर व्यवस्थापन गर्नु पर्ने अस्पतालका प्रमुख डाक्टर मुकेश कुमार चौधरीले बताउनु भयो ।

अस्पतालमा अहिले ५ वटा ठूला अक्सिजन सिलिण्डर, ३ वटा साना, अक्सिजन कन्सिटेटर ९ वटा रहेका छन । अस्पतालमा रहेको एक्सरे मेशिन पनि पुरानो छ, अल्ट्रासाउण्ड केहीँ दिन यता विग्रेको छ । नगरको बजेटले आवश्यक सामग्री किन्न पुग्दैन । कोरोना तेस्रो लहर बढ्दै गएको अवस्थामा अस्पतालले थेग्न नसक्ने डा.चौधरीले बताउनु भयो ।

कृष्णनगर नगरपालिकासंगै अस्पतालमा शिवराज नगरपालिका, विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका र छिमेकी देश भारतका नागरिकहरुले पनि सेवा लिदै आएका छन ।

नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहले बताउनु भयो ।

कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गर्नेहरुका लागि कृष्णनगरमा होल्डिङ सेन्टर सन्चालमा आएको र अब त्यहाँ भेटिने संक्रमितलाई समेत शिवराज अस्पतालबाटै उपचार गर्नु पर्ने भएकोले जनशक्तिको अभाव हुने र नगरपालिकाले थेग्न नसक्ने शाहले बताउनु भयो ।

जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी बजेट अभावमा जिर्ण बन्दै गएको छ । सोहि अस्पतालबाट सेवा लिदै आएका नजिकै जोडिएका स्थानीय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन सकेको छैन ।

प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदा अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएका छन । अस्पतालको स्तरउन्नती गर्न संघमा कांग्रेसका सांसद अभिषेक प्रताप शाह र प्रदेशमा साँसद तथा विपक्षी दलका नेता विरेन्द्र कानोडिया र अर्जुन कुमार के.सि.ले पहल गरे अस्पतालको अवस्थामा केहीँ सुधार हुने स्थानीयको अपेक्षा छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८ बुधबार ००:००  ८ : २३ बजे