दाङ ।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राख्ने तयारी छ । जस अन्तर्गत प्रदेश सभाको भवन निर्माणको कामले गति लिएको छ ।
पाँच करोड २० लाखको लागतमा सुविधायुक्त प्रदेश सभा भवन तयार पार्न थालिएको छ । भदौ महिनाको अन्तिमतिर काम सक्ने योजना रहेको बस्नेत निर्माण सेवाका ईञ्जिनियर रञ्जितकुमार लुंगेली मगरले बताउनुभयो ।
निर्माण कम्पनीले स्थानीय नागरिकलाई श्रमिकको रुपमा काममा लगाएको छ । लुम्बिनी प्रदेश सभाको गत असोज २० गते सम्पन्न बैठकले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी प्रदेश टुंगो लगाएको थियो । यो दश महिनाको बीचमा स्थायी राजधानीमा प्रदेश सभाको भवन बनाउन थालिएको हो । दैनिक ३० देखि ४० जना मजदूर काममा खटिएका छन् ।
सदनसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अन्य मन्त्रालय स्थानान्तरण गरिने ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणसँगै गरिएको लकडाउन र लगातार परेको झरीका कारण प्रदेश सभाको भवन निर्माण कार्य प्रभावित भएको थियो ।
प्रतिक्रिया