मोहनचन्द्र अधिकारी, कम्युनिष्ट आदर्श हुन् । उनले गरेका राजनीतिक योगदानको सम्मान स्वरूप उनलाई ‘नेपालका नेल्सन मण्डेला’समेत भन्ने गरिन्छ । उनी कम्युनिष्ट आन्दोलनकै क्रममा २०२८ सालमा रौतहटको गौरबाट पक्राउ परे । निरन्तर १७ वर्ष ९ महिना जेलजीवन बिताए । उनीसँगै केपी शर्मा ओलीले १४ वर्ष जेल जीवन बिताएका थिए । कम्युनिष्ट आदर्शका रूपमा स्थापित मोहनचन्द्रले ओलीको सफलता र असफलता दुबै देखे । आज उनै कम्युनिष्ट आदर्श मोहनचन्द्रको नजरमा समेत ओली विफल भए । उहाँसँग गरिएको कुराकानी प्रस्तुत छः
-सत्ताबाट ओलीको बहिर्गमन र देउवाको आगमनलाई कसरी हेर्नुभएको छ ?
अचम्म लाग्यो । २०७४ सालको निर्वाचनमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइ मत दिए । ओली दुईतिहाइ मतसहित प्रधानमन्त्री बने । नेपाली काँग्रेस प्रतिपक्षमा बस्यो । जनताको जनादेश यही थियो । त्यो जनादेशलाई ओलीले टिकाउन सकेनन् र ओलीकै कारण उल्टो परिस्थिति बन्यो । दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीमा अहंकार, दम्भ बढ्यो । प्रचण्ड, माधव नेपालहरुलाई मिलाएर लैजान सकेनन् । जथाभावी राजनीतिक नियुक्ति गरे । भ्रष्टाचार मौलायो । र, ओली पतनउन्मुख हुँदै गए । अन्ततः माधव नेपाललाई समेत मिलाउन नसक्दा यस्तो परिस्थिति आयो ।
– भनेपछि ठिकै भयो ?
ठूलो कुरा पार्टीभन्दा देश र संविधान हो । ओलीले दुईतिहाइको संसद् आफैँले बिना कारण भंग गरे । त्यसपछिको परिणाम के हुन्छ भन्ने विश्लेषण गरेनन् । धन्न, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदियो र संविधान जोगियो । अब जे–जे गर्नुछ, सार्वभौम संसद्ले गर्छ । संविधानको सर्वोच्चतालाई स्वीकार गरेर कम्युनिष्टहरु लोकतान्त्रिक धारमा आएका हुन् । त्यही संविधान मास्न खोजेपछि के परिणाम भोग्नुपर्छ भन्ने ज्ञान सर्वोच्चले दिलायो ।
– ओलीले त निर्वाचनमा जानु नै लोकतान्त्रिक विधि, पद्धति हो, सर्वोच्च अदालतले ठिक निर्णय गरेन भन्ने आरोप लगाएका छन् नि ?
संविधानले नै पाँच/पाँच वर्षमा निर्वाचन गर्ने भनेर तोकेको छ । आफूलाई मन नपरेको बेला संसद् भंग गर्न पाइन्छ भनेर प्रधानमन्त्रीलाई कहाँ अधिकार दिएको छ रु यो संविधानले त विघटनको कल्पनै गरेको छैन । ७६ ९५० भनेको अन्तिम विकल्प हो । जुन धारामा टेकेर शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । सबै दलका सांसदले देउवालाई समर्थन जनाएका छन् ।
– यस्तो परिस्थिति किन आयो होला ?
त्यो त ओलीलाई नै थाहा होला । दुईतिहाइको बहुमत आफूसँग हुँदा काम गरेर देखाउन सक्नु पथ्र्यो । माओवादी, माधव नेपालहरुलाई मिलाएर लैजान सक्नुपथ्र्यो । ओलीको एक्लो ‘महाराज’ बन्ने सपनाले सबै कुरा चकनाचुर भयो ।
– अब एमालेभित्रको विवाद कसरी सुल्झिएला ?
समस्याको मूल जड भनेको ओली प्रवृत्ति हो । एमालेभित्र अझै पनि त्यागी, इमान्दार कार्यकर्ताहरु छन् । इमान्दार, त्यागी र नैतिकवान नेता कार्यकर्ता एक ठाउँ उभिनुपर्छ र पार्टी एकता जोगाउनुपर्छ । त्यसका लागि ओली सुध्रनुको विकल्प छैन । माधव नेपाल इमान्दार नेता हुन् । त्यसैले पार्टी जोगाउन म पनि सानेपाको भेलामा सहभागी भएँ । सानेपा भेला सच्चा कम्युनिष्ट नेता, कार्यकर्ताहरुको भेला थियो । त्यो मैले प्रत्यक्ष अनुभव गरेँ । त्यो भेला नै एमालेको जग हो, जसको नेतृत्व माधव नेपालले गरे ।
– माधव नेपाल ठिक ओली बेठिक भन्न खोज्नुभएको ?
घटनाक्रमले देखाउँछ, को ठिक को बेठिक भन्ने कुरा । आफूलाई ‘जबजवादी’ पनि भन्ने अनि प्रतिगमनकारी कदम पनि चाल्ने रु के जबज भनेको प्रतिगमनकारी सिद्धान्त हो र ? मदन भण्डारीले वर्ग समन्वयको सिद्धान्त अपनाए । म त्यसको विरोधी थिएँ । पाँचौँ महाधिवेशनमा मैले वर्ग संघर्षको कुरा उठाए । कम्युनिष्टहरु जहिले पनि वर्ग संघर्षमा विश्वास गर्छन् । तर, त्यतिबेलाको परिस्थितिलाई ध्यानमा राखेर मदन भण्डारीले जबजको अवधारणा ल्याए पनि त्यसलाई लागू गरेर देखाउन ओलीले सकेनन् । दुईतिहाइ मत ‘जबज’लाई व्यवहारमा उतारेर गरिब, मजदुर, किसानको हकहितमा काम गरेर देखाउने अवसर थियो । तर, ओली बिचौलिया, माफिया, भ्रष्टाचारी, दलाली पूँजीपतिको चक्रव्युहमा फसे र बिग्रिए । राजनीतिमा ठूलो कुरा नैतिकता हो । नैतिकता नै नभएपछि जे गरे पनि भयो ।
– १४ वर्षसम्म त ओलीसँगै जेल बस्नुभयो ?
हो, त्यतिबेला एउटा उद्देश्य बोकेर हिँडेका थियौं । अनेकौं हण्डर, ठक्कर खाएर पार्टीलाई यो ठाउँसम्म ल्यायौं । तर, ओलीले सत्तामा पुगेपछि ती त्याग बलिदान सबै बिर्सिए । बेलाबखत लोकतन्त्रका लागि चौध वर्ष जेल बसेको कुरा त ओलीले गर्छन्, तर केका लागि जेल बसेको भन्ने उनले बिर्सिए । र, कम्युनिष्ट आन्दोलनको यो गति भयो ।
– पार्टी जागाउन तपाईंको सुझाव के छ ?
ओली विफल भए । माधव नेपालले एमालेको नेतृत्व लिनुपर्छ । पार्टी सुधार्न नयाँ नेतृत्वमा जानुपर्छ । कम्युनिष्ट पार्टीहरुबीच पुनः एकीकरण हुनुपर्छ । जुन सिद्धान्त र विचारले कम्युनिष्ट पार्टीमा लागेको हो, त्यो विचार छोड्न हुन्न । -दृष्टि न्यूजबाट साभार
प्रतिक्रिया