९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज बकर इद, कपिलवस्तुका मुस्लिम समुदायमा रौनक



मायादेवी अनलाइन, चारनम्बर ।
जनसंख्याका हिसाबले नेपालमै मुस्लिम बाहुल्यता भएको जिल्ला कपिलवस्तु हो । मुस्लिम समुदायको बढी बसोबास भएको जिल्ला अन्तरगत कपिलवस्तु दोस्रोमा पर्छ । आज मुस्लिम धर्मावलम्वीहरुले आफ्नो दोस्रो ठुलो पर्व बकर इद ।

जिल्लाका मुस्लिम समुदायले आफ्नो पर्व धुमधामका साथ मनाई रहेका छन् । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडा, महाराजगञ्ज लगायतका स्थानमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ ।

यी स्थानमा रहेका ईदगाहहरु कोरोना भाइरसको कारण सुनसान रहेपनि घरमै खुसीयाली साटेर मुस्लिम समुदायले इद पर्व मनाइरहेका छन् ।
खासगरी बकर इर्दमा इदगाहहरुमा भेला भै मुस्लिम समुदायहरुले सामुहिक नमाज पढेर एक आपसमा शुभकामना आदान प्रदान गरि बकर इद मनाउने गर्छन् । तर, गत बर्ष देखिको कोरोना कहरले गर्दा घरमै ईद पर्व मनाउँन मुस्लिम समुदाय पनि बाध्य भएका छन् ।

ईदुल अजहाको नमाज पढी सके पछि मुस्लिमहरु आ–आफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि इब्राहिम अलि सलामले आफ्नो प्यारो छोरा इस्माईलको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईलको ठाउँमा दुम्बा अर्थात भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।

आजको दिनलाई मुस्लिमहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माइललाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा एवं पाठी बली दिन्छन । कुरवानीको मासु प्रसादको रुपमा ३ भाग लगाएर पहिलो भाग गरीवहरुको दोस्रो भाग साथीभाईका लागि र तेस्रो भाग परिवारमा राखेर खाने गरिन्छ ।

नयाँ लुगा लगाई बकरईदको शुभकामना आदान प्रदान साटासाट गरी बकरईदका दिन कपिलवस्तुका मुस्लिमहरुले हिन्दु तथा अन्य धर्मावलम्वीका व्यक्तिहरुलाई आफ्नो घरमा निमन्त्रणा गरी सामुहिक रुपमा सद्भाव र खुशीयालीका साथ यो पर्व मनाउने गर्ने गर्दछन् ।

मुस्लिमहरुको दोस्रो ठुलो पर्व बकर इदको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा पनि दिएको छ ।

तस्बीर फाइल

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ७ : ०९ बजे