मणि प्रसाद गैह्रे, तौलिहवा ।
कतार च्यारिटिको सहयोगमा लिडो नेपाल संस्थाले शुद्धोधन गाउँपालिकाको लवनी स्वास्थ्य चौकीलाई १४ लाख बराबरको स्वास्थ्य उपकरण र साम्रगी हस्तान्तरण गरेको छ । ग्रामिण क्षेत्रका जनताको उपचारमा सहजता ल्याउनको लागि वर्थिङ सेन्टर संचालनमा रहेको लवनी स्वास्थ्य चौकीको सेवामा थप प्रभावकारी बनाउनको लागि उक्त उपकरण तथा साम्रगी हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
भिडियो एक्सरे मेसिन १ वटा, हस्पिटल वेड ८ वटा, डेलिभरी बेड २ वटा, ह्विल चियर ५ वटा लगायतका साम्रगी हस्तान्तरण गरिएको छ । संस्थाका कोषाध्यक्ष बलिउद्धिन खाँले शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँलाई उक्त साम्रगी हस्तान्तरण गरे ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निसार अहमद खाँले गाउँपालिकाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र गाउँपालिका क्षेत्रका जनताको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने सहयोगी निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता सहयोगको अपेक्षा गरे ।
हस्तान्तरण समारोहमा लिडो संस्थाका कोषाध्यक्ष खाँले आगामी दिनमा पनि स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा संस्थाले सहयोग गर्ने बताए ।
प्रतिक्रिया