पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकाकी एकजना अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको सार्वजनिक भएको छ ।
अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै ४४ वर्षीय अजुर्न बिकले बलात्कार गरेका थिए । उनले गर्भधारण गरेपनि लामो समयसम्म उनले घटना लुकाएर राखेकी थिइन् ।
बलात्कृत महिलाले सोमबार जाहेरी दिएपछि बिकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।
सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया