९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपालकै ठुलो ‘मेवा फर्म’ कपिलवस्तुको वाणगंगामा, प्रदेश कृषि मन्त्रीद्धारा अवलोकन



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ भक्तौलीमा नेपालकै ठुलो मेवा खेती फर्म संचालन गरिएको छ । ‘लुम्बिनी वहुद्धेश्यीय एग्रिकल्चर प्राली’ मा आवद्ध भएर ८ जना पौरखी किसानले पाँच बर्षको लागि ८ विगाहा जग्गा लिजमा लिएर सवा करोड बढी लगानीमा मेवा फर्म संचालन गरेका हुन् । दाङ र चितवनमा यस्तै खेती भए पनि यति ठुलो आकारमा नभएका कारण यो फर्म नेपालकै ‘ठुलो’ मेवा फर्म रहेको संचालकहरुको दावी छ ।

अहिले त्यहाँ ‘ताइवान रेड लेडी ७८६’ प्रजातिका ९ हजार ४ सय ७६ मेवाका विरुवा हुर्किरहेका छन् । गत फागुनमा सुरु गरिएको फर्मबाट आगामी फागुनसम्म बेच्ने गरी मेवा तयार हुने बताइएको छ । राम्रो भएमा एउटै विरुवामा १ देखि २ क्विन्टलसम्म मेवा फल्ने संचालकहरु बताउँछन् । संचालकहरुका अनुसार यस जातिको मेवाको विउको मुल्य प्रतिकेजी ११ लाख पर्दछ । त्यहाँ ३ सय ग्राम विउ छरेर विरुवा तयार गरिएको छ ।

May be an image of outdoors

यसैबीच सो फर्मको लुम्बिनी प्रदेश सरकारका भुमि ब्यवस्था तथा कृषि मन्त्री विजय यादव र प्रदेश सांसद विष्णु पन्थीले सोमबार विहान अवलोकन गर्नु भएको छ । सांसद पन्थीको आग्रहपछि मेवा खेती अवलोकनका लागि आउनु भएका मन्त्री यादवले आफ्नो मन्त्रालय अन्तर्गत रहेर नेपालमै ठुलो मेवा फर्म संचालन गरिएको पहिलो पटक थाहा पाएको मायादेवी अनलाइनसंग बताउनु भयो । खेती अवलोकन पश्चात् दङ्ग पर्नु भएका मन्त्री यादवले उत्साहित हुँदै मन्त्रालयबाट हुने सहयोगमा कुनै कन्जुस्याँई नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो ‘नेपालकै ठुलो मेवा खेती फर्म रहेछ । यो गर्वको कुरा हो । उहाँहरु पटकपटक मन्त्रालय धाउनु भएको रहेछ । त्यो थाहा पाइसकेपछि फिल्डमै आएको छु । मन्त्रालयको तर्फबाट पक्कै पनि सहयोग हुन्छ ।‘ मन्त्री यादवले किसानको लगानी खेर जान नदिने पनि बताउनु भयो । ‘सारा लगानी गरेर यहाँका कृषकले लगानी गर्नु भएको रहेछ । तपाईलाई चाहिने के हो ? आवश्यकता के हो ? सिमिति साधन श्रोत छ तै पनि तपाइँहरुलाई ढुवानी, स्टोरेज, बजारीकरणको लागि के गर्न सकिन्छ मन्त्रालयबाट सहयोग हुन्छ । हतोत्साही नभइकन काम गर्नुहोस्’ उहाँले थप्नुभयो ।

पटकपटक धाएको तर प्रदेश सरकाले कुनै सम्बोधन नगरेको भनी कृषकले गुनासो गरेपछि उनीहरुको अगाडी नै सचिवलाई फोन गरी मन्त्री यादवले तुरुन्त फाइल पल्टाउन निर्देशन दिनुभएको थियो ।

सांसद विष्णु पन्थीले पनि यस्तो पौरखी किसानलाई प्रदेशले निरास नपार्ने भन्दै सहयोग गर्न आफूले मन्त्रालयको ध्यानाकर्षण गराएको बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्रमा प्रदेशले गर्व गर्ने गरी नयाँ र भिन्न किसिमले मेवा फर्म संचालन गरिएकोमा खुसी ब्यक्त गर्दै सक्दो सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।

प्रालीका अध्यक्ष पिताम्बर पोख्रेलले भने अहिलेसम्म प्रदेश, नगर कसैले पनि सहयोग नगरेकोमा खिन्नता ब्यक्त गर्नुभयो । पटकपटक मन्त्रालयमा पुगेर फाइल पेश गरे पनि कुनै सुनुवाई नभएको अवस्थामा मन्त्री नै आएर हवलोकन गरेपछि अब केही हुन्छ कि भनेर आशा पलाएको पनि उहाँले मायादेवीसंग सुनाउनु भयो ।

सरकारले सहयोग गरी उत्साहित बनाउने र कुनै प्राकृतिक विपत्ति नआएमा प्रदेशलाई मेवा खेतीमा आत्मनिर्भर गराउने संचालक देवीराम घिमिरे र खुमानन्द घिमिरेले मायादेवीसंग बताउनु भयो । नेपालमा बार्षिक रुपमा करिब १ अरबको मेवा भारतबाट आयात भइरहेको हुँदा यस फर्मबाट उत्पादन हुने मेवाले त्यस आयातलाई रोक्न सहयोग गर्ने उहाँहरु बताउनु हुन्छ ।

फर्ममा अहिले २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । दाङबाट विशेष प्रविधि झिकाएरै अहिले खेती भइरहेको छ । सो फर्ममा नै अहिले नर्सरी बनाएर विरुवा उत्पादन भइरहेको प्राविधिक बताउँछन् । त्यहाँबाट तयार भएका विरुवा अहिले स्थानीय स्तरमा पनि विक्रि वितरण भइरहेको बताइएको छ । संचालक खुमान्द घिमिरेले एग्रो टुरिजमको अवधारणामा अगाडी बढेको भन्दै यसलाई नेपालकै नमुना फर्म बनाइने बताउनु भयो ।

May be an image of 5 people, people standing, grass and tree

प्रकाशित मिति : ४ श्रावण २०७८ सोमबार ००:००  ६ : २५ बजे