९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देउवा पहिले श्री ५ बाट, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्तः प्रदीप ज्ञवाली



काठमाण्डौ ।

नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँले यसअघि श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको टिप्पणी गर्नुभएको हो । उहाँले ३२ वर्ष अघि अन्त्य भएको निर्दलीयतालाई जस्केलाबाट छिराइएको पनि बताउनुभयो ।

एमाले विधिको शासनमा विश्वास गर्ने भन्दै ज्ञवालीले सर्वोच्चले प्रधानमन्त्री तोक्ने कुराको आफ्नो पार्टीले कल्पनासमेत गर्न नसक्ने बताउनुभयो । ज्ञवालीले केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकको भावनाअनुसार काम गरेको र भविष्यमा नागरिकले फेरि एमालेलाई चुनावमा जिताएर सरकारमा पठाउने दाबी पनि गर्नुभयो । ज्ञवालीले आफूहरुले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारका हरेक कुराको विरोध नगर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  ७ : २३ बजे