काठमाडौँ ।
नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने संकेत गरेका छन् । नेता पन्तले देउवा सरकारलाई विश्वासको मत दिँदैमा सरकारमा जानैपर्छ भन्ने नभएको बताएका छन् ।
देउवाले संसद्बाट विश्वासको मत लिनु पहिला आइतबार सामाजिक सञ्जालमार्फत पन्तले भनेका छन्, शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन । पार्टीको विवाद समाधानका लागि एमाले कार्यदलको सुझावलाई आधार बनाएर अघि बढ्नुपर्ने पन्तको आग्रह छ ।
कार्यदलको सुझावलाई आधार बनाएर एकता मजाले गर्न सकिन्छ, चाहेमा । माधव नेपालको पुत्ला जलाउने, उनकोविरूद्ध मनपरी नारा लाउने र उनलाई पार्टीमा ठाउँ छैन भन्दै अध्यक्ष आफैले भाषण गर्दै परिस्थिति बिगारेको यथार्थलाई पनि मनन गरौं, पन्तले सामाजिक सञ्जालमा लेखेका छन् ।
पार्टी एकताका लागि सबैलाई जिम्मेवार बन्न पनि पन्तले भनेका छन् । सबै जिम्मेवार बनौं । पार्टी एकताको प्रयासलाई सफल पार्न आ(आफ्नो ठाउँमा सबैले भूमिका खेलौं । हुनुपर्नेहरूलाई चेतना भया, उनको आग्रह छ ।
प्रतिक्रिया