कपिलवस्तु ।
विगत लामो समयदेखि कतारमा कार्यरत रुपन्देही रुद्रपुरका दीप मिलनलाई गैर आवासीय नेपाली संघ कतारले सम्मान गरेको छ । कतारमा रहेर नेपाली भाषा तथा साहित्यको माध्यमले नेपाली समाजलाई एकीकृत तथा भाषा साहित्यको संरक्षण कार्यमा गरेको मेहनतको मूल्यांकन गर्दै गैर आवासीय नेपाली संघ कतारले नवौं महाधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । संघले नगद १५,००१ रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो ।
संघको २०१७/२०१९ कार्यकालमा स्थापित साहित्य, पत्रकारिता तथा खेलकुद पुरस्कार अन्तर्गत उनी साहित्य पुरस्कारद्वारा सम्मानित भएका हुन् । वर्तमान समयमा भाषाको जगेर्ना निकै महत्त्वपूर्ण भएको र यो काम साहित्यले गर्ने भएकाले साहित्य पुरस्कारद्वारा पुरस्कृत गरेको संघले जनाएको छ ।
साथै यो सम्मानले आफ्नो लेखन र अध्ययनमा थप हौसला प्रदान गरेको दीप मिलनले बताएका छन् । रमेश स्मृति कोषका संयोजक तथा अनुराग साहित्य समाज देवदह रूपन्देहीका वैदेशिक विभाग प्रमुख रहेका दीप मिलन नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य हुन । उनी गजल इन्द्रेणी नामक संयुक्त गजल संग्रहका प्रकाशक समेत रहेका छन् ।
प्रतिक्रिया