एजेन्सी ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी–२० विश्वकप क्रिकेटको समूह घोषणा गरेको छ । शुक्रबार ओमानमा विश्वकपको समूह निर्धारण भएको हो ।
समूहमा भारत र पाकिस्तान एकै समूहमा परेका छन् । दुवै सुपर १२ को समूह २ मा रहेका छन् । अन्तिम पटक दुवै टिम सन् २०१९ को वान डे विश्वकपमा भिडेका थिए । जसमा भारत विजयी बनेको थियो ।
कोरोना महामारीका कारण टी–२० विश्वकप अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म भारतको सट्टा यूएई र ओमानमा खेलिनेछ । टी–२० विश्वकपको खेल तालिका एक सातापछि सार्वजनीक गर्ने सम्भावना रहेको छ ।
प्रतियोगिताको पहिलो चरणमा ८ क्वालिफाईङ टोलीले सहभागीता जनाउनेछन् । जुन ओमान र यूएईमा खेलिनेछ । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
प्रारम्भिक चरणमा ८ टिम बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । प्रतियोगिताको फाईनल नोभेम्बर १४ मा हुनेछ ।
आगामी प्रतियोगिता सन् २०१६ पछि पहिलो टी–२० विश्वकप हुनेछ । पछिल्लो पटक वेस्ट इन्डिजले इङ्ल्याण्डलाई हराएर उपाधि जितेको थियो । भारतले सुपर १० को समूह भिडन्तमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
सुपर-१२ मा रहेका भारत र पाकिस्तान समूह ‘२’ मा परेका छन् । यस समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डका दुई टिमले यस समुहमा स्थान बनाउने छन् । पहिलो राउण्डको समूह ‘बी’ विजेता र समूह ‘ए’ को उपविजेता यस समूहमा रहने छन् ।
यस्तै समूह ‘१’ इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा रहने छन् ।
युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
प्रतिक्रिया