काठमाडौँ ।
निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।
इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।
प्रतिक्रिया