९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ४ कोरोना अस्पतालका कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता



बुटवल ।
मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना अस्पतालमा कार्यरत कर्मचारी भत्ता थपसँगै प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृति दिनेसम्मका निर्णय गरेको छ ।

बैठकले प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरूलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जानकारी दिए ।

केन्द्रीय सरकारले अग्रपंक्तिमा रहेर कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिए पनि त्यसलाई यथावत् राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थप गरेको जानकारी दिए ।

सरकारले प्रदेश सहकारी बोर्डमा दाङका शम्भु गौतमलाई पदस्थापन गर्ने निर्णय गरेको छ । पाल्पाका धनेन्द्र गौतमले राजीनामा दिएपछि भएको रिक्त स्थानमा उनलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारको निजामती सेवा अन्तर्गत प्रशासन सेवा र वन सेवाका रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा आएको रुपन्देही जिल्लाको जिल्ला सभा तथा जिल्ला समन्वय समितिको जिल्लास्तरीय अनुगमन तथा समन्वयसम्बन्धी कार्यविधि २०७८ लाई सहमति दिने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रस्तावमा आएको प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रदेश सभासमक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रदेश तथ्यांक नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै मंगलबारको बैठकले घरजग्गा न्यूनतम मूल्य निर्धारण नियमावली, २०७८ लाई पनि स्वीकृत गरेको छ ।

प्रदेश राजपत्रमा शुल्क तथा दररेट प्रकाशन गर्न स्वीकृतिसमेत दिइएको छ।

प्रकाशित मिति : ३० असार २०७८ बुधबार ००:००  ६ : २१ बजे