काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । मङ्गलबार सिंहदरबारमा बसेको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।
बैठकले असोज मसान्तभित्र एक तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । त्यसैगरी बैठकले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।
कोरोनालगायत विभिन्न प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली दिइएको बताउँदै मन्त्री कार्कीले कोरोना फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता एक हप्ताभित्र उपलव्ध गराउने निर्णय भएको जनाए ।
यसअघि मंगलबार साँझ नै प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका थिए । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीताको शपथ लिएपछि देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।
देउवालाई मुख्यसचिव शंकरदास वैरागी एवम् सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए ।
प्रतिक्रिया