एजेन्सी ।
मध्यक्रमका ब्याट्सम्यान जेम्स भिन्सको शतकको सहयोगमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन ओडिआई खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै क्लिनस्विप गरेको हो ।
जितको लागि ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डलाई सानदार जित दिलाउन मध्यक्रमका ब्याट्सम्यान जेम्स भिन्सले ९५ बलमा ११ चौका सहित १ सय २ रनको शतकीय इनिङ खेले । भिन्सको यो ओडिआई करिअरको पहिलो शतक हो । अलराउन्डर लुईस ग्रेगरीले तल्लोक्रममा ६९ बलमा ६ चौका र ३ छक्का सहित ७७ रनको महत्वपूर्ण योगदान दिए ।
ओपनर फिलिप साल्ट २२ बलमा ७ चौका सहित ३७ रनमा आउट भए । ज्याक क्रली ३४ बलमा ७ चौका सहित ३९, कप्तान बेन स्टोक्स ३२ र क्रेग ओभरटन १८ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ९ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए । अन्यले विकेट लिन सकेनन् ।
त्यसअघि बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । बाबर आजमले १ सय ३९ बलमा १४ चौका र ४ छक्का सहित १ सय ५८ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले । बाबरको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन हो । यसअघि बाबरको सन् २०१७ मा वेस्ट इन्डिजविरुद्ध १ सय २५ रन अविजित ओडिआई करिअरको उच्च रहँदै आएको थियो ।
बाबरको अन्तर्राष्ट्रिय करिअरको पनि सर्वोत्कृष्ट प्रदर्शन पर्दछ । बाबरको टि२० आईमा १ सय २२ र टेस्टमा १ सय ४३ रन उच्च प्रदर्शनको रुपमा छ । बाबर पाकिस्तानबाट ओडिआईमा एकै इनिङमा सर्वाधिक रन बनाउने कप्तान बनेका छन् । इंग्ल्यान्डविरुद्ध ओडिआईमा कुनैपनि विपक्ष्य कप्तानले बनाएको यो सर्वाधिक धेरै रन हो । पाकिस्तानबाट इंग्ल्यान्डविरुद्ध ब्याट्सम्यानले बनाएको सर्वाधिक धेरै रनको कीर्तिमान पनि बनेको छ । बाबर इंग्ल्यान्डसँगको पहिलो खेलमा शून्य र दोस्रो खेलमा १९ रनमा आउट हुँदा केहि आलोचित बनेका थिए । ती आलोचितलाई बाबरले ब्याटबाट राम्रो जवाफ दिएका छन् ।
बाबरले १ सय ४ बलमा शतक ओडिआई करिअरको १४ औं शतक पूरा गरेका थिए । बाबर अन्तिम ओभरको दोस्रो बलमा डेविड मलानबाट क्याच आउट हुन पुगे । मोहम्मद रिजवान ५८ बलमा ८ चौका सहित ७४ रनमा आउट भए । तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय २० बलमा १ सय ७९ रनको आक्रामक उत्कृष्ट शतकीय साझेदारी गरेपछि पाकिस्तानले विशाल योगफल तयार पारेको हो ।
पाकिस्तानलाई ओपनर फखर जमान र ईमाम उल हकले ४।४ ओभरमा २१ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सकिब मोहम्मदले ज्याक क्रलीबाट फखरलाई ६ रनमा क्याच गराउँदै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि बाबर र ईमामले १ सय २७ बलमा ९२ रनको साझेदारी गरेका थिए ।
ईमामलाई स्पिर म्याट पार्किसनले २६ औं ओभरको पाँचौं बलमा ५६ रनमा बोल्ड आउट गरे । ईमामले ७३ बलमा ७ चौका प्रहार गरे । सहिब मकसुद ८, हसन अली ४, फहिम अशरफ १०, शादब खान र शाहिन अफ्रिदी शून्यमा आउट भए ।
इंग्ल्यान्डका ब्रायडन क्रसेले १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिए । सकिब मोहम्मदले १० ओभरमा २ मेडन सहित ६० रन खर्चेर ३ विकेट लिए । म्याट पार्किसनले एक एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान १८ रन र दोस्रो खेलमा ५२ रनले पराजित भएको थियो । यो इंग्ल्यान्डको दोस्रो रोजाईको टोली हो । स्टोक्सले ओडिआईमा पहिलो पटक कप्तानी गर्दै सानदार नतिजा दिलाएका हुन् ।
ओईन मोर्गनको कप्तानीमा घोषणा टोलीका तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि इंग्ल्यान्डले बेन स्टोक्सको नेतृत्वमा नयाँ टोली घोषणा गरेको थियो । तीव्र गतिका बलर सकिब मोहम्मद प्लेयर अफ द सिरिज चुनिए । जेम्स भिन्स प्लेयर अफ द म्याच चुनिएका थिए । पाकिस्तान र इंग्ल्यान्डबीच थप तीन टि२० आईको सिरिज हुने छ । पहिलो खेल शुक्रबार हुने छ ।
प्रतिक्रिया