९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजदेखि लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशमा खोप लगाइँदै, प्राथमिकतामा को को ?



काठमाण्डौँ ।
सरकारले मंगलबारदेखि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षक÷कर्मचारीलाई खोप दिन लागेको हो ।

यस्तै, अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।

यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताए । ’खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको छ ,’ उनले भने ।

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।

कोभीड खोपको अबको योजना जिल्लाहरूले यही बमोजिम पालिकाहरूसंग समन्वय गरी सुक्ष्म योजना तयार गरी छिट्टै शुरू हुन्छ
५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागाजात पेस गर्नुपर्ने हुन्छ ।

सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ । यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २९ असार २०७८ मंगलबार ००:००  ६ : ०९ बजे