९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१९६८ पछि इटालीले जित्यो युरोकप फुटबलको उपाधि, इंग्ल्यान्ड स्तब्ध




एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।इंग्ल्यान्ड भने पहिलो पटक युरोकपको उपाधि जित्न असफल भएको छ ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इटालीले बाजी मार्यो ।पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए ।

इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो ।खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका थिए ।

इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनलाई पेनाल्टीमै हराएर फाइनल यात्रा तय गरेको हो । इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्डले भने डेनमार्कलाई हराएर इटालीसँगको भेट पक्का गरेको थियो । इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०७८ सोमबार ००:००  ६ : ३४ बजे