मायादेवी अनलाइन, चारनम्बर ।
पूर्व सूचना बिनै हुने अनियमित विद्युत् कटौतीले कपिलवस्तुवासीले निकै सास्ति खेप्नु परेको छ । यस समस्याले कपिलवस्तुका सर्वसाधारण, उद्योगी, ब्यवसायी, संचार संस्था, गृहिणी र अनलाइन कक्षा पढ्ने विद्यार्थी चरम मारमा परेका छन् । विद्युत् अनियमित हुँदा लोडसेडिङ हुँदाको समयमा भन्दा बढी समस्या भोग्नु परिरहेको उनीहरुको गुनासो छ ।
विहान, दिउँसो, राति कतिखेर विजुली जान्छ र आउँछ थाहा हुँदैन । एक ढंगले काम गरिरहेको अवस्थामा झ्याप्पै जाँदा औद्यौगिक मेसिनरी, घरका बिजुलीजन्य सामानहरु विग्रने समस्याको चपेटामा कपिलवस्तुबासी अहिले परेका छन् । कतिपयका पंखा, लाइट, बल्व आदि पनि दिनहुँ फेर्नु परिरहेको भन्दै नागरिकहरुले विद्यूत कार्यालयमाथि ठुलो आक्रोश पोख्न थालेका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले विद्युत् अनियमितताका कारण उद्योग व्यवसाय धरापमा पर्न लागेको मायादेवीसंग सुनाउनु भयो । ‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समाधान निस्किँदैन,’ उहाँले भन्नुभयोे, ‘उद्योगीबाट कर उठाएर मात्र भएन, विद्युत् सहुलियतमा पनि ध्यान दिनुप¥यो ।’
अन्य उद्योगी र ब्यवसायी भन्छन् ‘उद्योगहरूका लागि क्वालिटी विद्युत् चाहिन्छ । यसरी समय–समयमा आउने–जाने हुँदा सबभन्दा बढी उत्पादनको क्वालिटीमा असर पर्छ,’ ‘त्यसपछि मेसिनमा खराबी आउन सक्छ ।’।
यस्तो अनियमितताले ठूलो घाटा भइरहेको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे बताउनुहुन्छ । ‘यस्तै हो भने उद्योग बन्द गरेर बस्नुपर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो । यसमा प्राधिकरणले ध्यान दिनु पर्ने पटक्कै दिने नगरेको उहाँ बताउनुहुन्छ ।
बाणगंगाा–४ की यमुना न्यौपाने छोरालाई अनलाइनमा पढाउँदा विद्युत् कटौतीको पीडा व्यहोर्नुपरेको बताउनुहुन्छ । ‘छोरा २ कक्षामा पढ्छ । अनलाइनमा पढाइ सुरु गर्दा झ्याप्प बत्ती गइदिन्छ,’ उहाँले भन्नुभयो, ‘कति बेला आउने हो, कुनै पत्तो हुँदैन ।’
अर्का शिक्षक सुरेन्द्र घिमिरेले विद्युत् कटौतीका कारण अनलाइनमा आधारित पढाइ नै अस्तव्यस्त बनेको बताउनु भयो । ‘अहिले अनलाइनबाटै पढाउनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयोे, ‘कतै इन्भर्टर व्यवसायीसँग साँठगाँठ गरेर कृत्रिम कटौती त भइरहेको छैन भन्ने शंका लाग्छ ।’ अनियमित रूपमा पटक–पटक विद्युत् कटौती हुने क्रम बढ्दै गएपछि कपिलवस्तुका विभिन्न सामाजिक एवं व्यवसायिक संघ-संस्थाका अगुवाहरूले पनि अब दबाब बढाउने बताएका छन् । नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइले यस्तै चाला र लापरबाही भइ नै रहने हो भने कार्यालयमा ताला लगाउनु पर्ने स्थिति आउने चेतावनी दिनुभयो ।
उहाँले अब यस विषयमा प्राधिकरणसंग होइन जिल्ला प्रशासन कार्यालायसंग नै छलफल गर्नुपर्ने अवस्था अभएको बताउनु भयो ।विद्यूत कार्यालयले पटक-पटक सूचना पुर्याउँदा पनि नसुनेपछि प्रशासनलाई भन्नु पर्ने स्थिति आएको उहाँले बताउनु भयो ।
यस्तै अनियमित विद्यूत आपूर्तिले संचारमाध्यम पनि प्रभावित भएका छन् । मुख्यगरी रेडियोका ट्रान्समिटर, मिक्सचर लगायतका महत्वपूर्ण औजारमा अनियमित विद्यूत आपूर्तिले क्षति गरेको रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।
कतिपय रेडियोहरुमा इन्भटर र जेनेरेटर हुँदैन उहाँले भन्नुभयो ‘एक्कासी लाइन जाँदा स्टेसन बन्द हुन्छन् । यस विषयमा कार्यलयको ध्यान नगएमा संचारमाध्यम पनि विरोधमा उत्रन बाध्य हुनुपर्दछ ।’ जिल्लाका अन्य छापा र इलेक्ट्रिोनिक मिडियालाई सूचना विनै काटिएको विद्यूतले ठुलो समस्यामा पारेको न्यौपाने बताउनुहुन्छ ।
विद्यूत कार्यालयमै कार्यालय प्रमुख फेरिएपछि अहिले बढी समस्या भएको जनगुनासो छ । विद्युत् प्राधिकरण तौलिहवाले विद्युत् आपूर्तिकै समस्या रहेको बताउँछ । विजुली जाने समस्यापछि जनताको ब्यापक गुनासो आएपछि मायादेवीले यो खबर लेख्दा कार्यलय प्रमुखको फोन नउठेपछि कार्यालयकै अरुलाई बुझ्दा बिभिन्न स्थानमा ट्रान्सफर्मरमा ओभरलोड हुने, ट्रान्सफर्मर बिग्रिरहने, नयाँ ट्रान्सफर्मर जडान गर्नुपर्ने, विकास निर्माणका कामले लाइनमा अवरोध हुने लगायतले समस्या भएको बताइएको छ ।
अर्कोतर्फ विजुली गए पछि यसबारे बुझ्न प्राधिकरणका नम्बरमा फोन गर्दा ती नम्बर ब्यस्त मात्रै हुन्छन् । कसैगरी घण्टी गइहाल्यो भने पनि उठ्दैनन् । यसले गर्दा समय तालिकामा काम गर्ने बयापारी ब्यवसायी निकै समस्यामा पर्ने गरेका छन् ।
प्रतिक्रिया