९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध थप आन्दोलन गर्ने निर्णय



काठमाडौं ।
आन्दोलनरत प्रतिपक्षी विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेका छन् । देशभर संचालित आन्दोलन सफल बनाउने विद्यार्थी संगठनहरुले निर्णय गरेका हुन् ।

विद्यार्थी संगठनहरुको बैठकले प्रतिगामी असंबैधानिक कदम, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा ब्याप्त बेथिति, कोरोना संक्रमण नियन्त्रण र रोकथाममा सरकारको उदाशीनताविरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गरेको छ ।

बैठकले संविधानको धारा ३१, ३३ र ३५ मा क्रमशः शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटान गरी संविधानतः कक्षा ८ सम्मको शिक्षा निःशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ र स्वास्थ्य, रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्ने माग गरेको छ ।

बैठकले संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के. सि।लाई संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा सार्वजनिक कार्यक्रम आयोजना गरि सामूहिक हस्ताक्षर गराउने निर्णय गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजिब ढुङ्गाना, अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ, अखिल अध्यक्ष सुदेश पराजुली, समाजबादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष बिमल पोख्रेलले, नेविसंघ महामन्त्री बलदेव तिमल्सिनालगायत सहभागी थिए ।

प्रकाशित मिति : २६ असार २०७८ शनिबार ००:००  १२ : ५१ बजे