९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाढी र पहिरोले गरेको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली बाढीरपहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढीरपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढीरपहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

यस वर्ष सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल लगायत अरु ७ जिल्लामा घर क्षति भएका परिवारलाई राहत स्वरुप पहिलो किस्तामा प्रतिपरिवार ५० हजार रुपैयाँ अस्थायी घर बनाउन रकम निकासा भएको छ । मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढीरपहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।

सिन्धुपाल्चोकसहित यसवर्ष दाङ, प्युठान, दैलेख, बाजुरा, लमजुङ, अर्घाखाँची र हुम्लामा गरी ५ सय ७३ परिवारको घर क्षति भएको छ । पीडितलाई अस्थायी आवास बनाउन २ करोड, ८६ लाख रुपैयाँ पठाएको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै अघिल्लो वर्षको बाढीरपहिरोबाट घरबारविहीन २२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन झण्डै ३० करोड रुपैयाँ पठाएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ असार २०७८ शनिबार ००:००  १२ : १६ बजे