८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

माधव नेपालले नमानेपछि प्रधानमन्त्रीसँग वार्ता गर्न पुगे भीम रावल



काठमाण्डौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न असन्तुष्ट माधव कुमार नेपाल समूहका नेता भीमबहादुर रावल बालुवाटार पुगेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेट्न नेता रावल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधानबारे वार्ता गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपालका विश्वासपात्र रावललाई बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि आग्रह गरेका थिए । तर, नेता नेपालले प्रधानमन्त्री ओलीको प्रस्तावलाई बेवास्ता गरेपछि उनीनिकट नेता रावललाई वार्ताका लागि बोलाइएको हो ।

एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समावेश नेपाल समूहका २३ सांसदको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ ।

पार्टीले दिएको अल्टिमेटम सकिनु एकदिन बाँकी छँदा रावललाई वार्ताका लागि बोलाइएको हो । यसअघि शनिबार नेपाल समूहले सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने बताइसकेको छ ।

नेपाल समूहका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताले प्रधानमन्त्री ओलीलाई नेता रावलसँग कुरा गर्न सुझाएको स्रोतको दाबी छ ।

यसअघि आइतबार बिहान नेता नेपाललाई भेटेर अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले दुई नेता मिल्नुको विकल्प नभएको भन्दै समझदारीको वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरूले नेपाल एमालेमा फर्किए उनकै सुझाव अनुसार पार्टी चलाउने र त्यसका लागि आफूहरूले वातावरण मिलाउने कुरा राखेको प्रस्ताव नेपालसमक्ष राखेका थिए ।

तर, नेपालको नेपालसँग उनीहरूको आग्रह थियो, एमाले एकताको विषयमा अध्यक्ष ओली र नेपालले संयुक्त विज्ञप्ति जारी गरुन् । नेता नेपालले उनीहरूलाई भनेका थिए , ‘एकताका लागि वार्ता गर्ने कार्यदल ब्युँताउनुस्, त्यहाँबाट संयुक्त विज्ञप्तिको मस्यौदा तयार गर्नुस् अनि सोचौँला ।’

प्रकाशित मिति : २१ असार २०७८ सोमबार ००:००  ६ : २९ बजे