८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

काठमाण्डौ उपत्यकामा भोलिदेखि सबै गाडी चल्ने



काठमाण्डौ । काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।

सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेको बैठकले काठमाण्डौ उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्थालाई यथावत् राखेको छ ।

स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र सवारी साधनलाई अनिवार्य रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने सर्तसहित सवारी साधनको जोर–बिजोर प्रणाली हटाइएको काठमाण्डौका प्रजिअ कालीप्रसाद पराजुलीले बताउनुभयो ।

सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटी पार्लर, मनोरञ्जनस्थल, फुटसल, जिमखाना, चिडियाखाना लगायत भिडभाड हुने ठाउँमा प्रतिबन्ध लगाइएको छ । यस्तै खुला ठाउँमा भोजभतेर वा सभा, समारोह गर्न, मन्दिरमा नित्य पूजाबाहेक सांस्कृतिक गतिविधि गर्न, भौतिक उपस्थितिमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

एउटा कोठामा बढीमा २५ जना उपस्थित हुने गरी परीक्षा सञ्चालन गर्न भने दिइने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निकालेको विज्ञप्तिमा छ । औषधिबाहेकका पसल बेलुका ६ बजेसम्म मात्रै र टेक वे वा होम डेलिभरीका लागि रेस्टुरेन्ट तथा खाजा घर बेलुकी ७ बजेसम्म खोल्न पाइने भएको छ ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदैछ । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको हो ।

प्रकाशित मिति : २१ असार २०७८ सोमबार ००:००  ६ : २१ बजे