८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित निकाल्दै डेनमार्क सेमिफाइनलमा



एजेन्सी ।
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क १६ औं संस्करणको युरो कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा थोमसले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । लार्सेनको कर्नरमा अनमार्क रहेका उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ४२ औं मिनेटमा युवा स्ट्राइकर डोलवर्गले गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । उनले जोकिम माहेलको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा चेक रिपब्लिकले एक गोल फर्कायो । ४९ औं मिनेटमा प्याट्रिकले काउफलको पासमा गोल गर्दै चेक रिपब्लिकलाई २-१ को स्थितिमा ल्याए । तर, उनको गोलले चेक रिपब्लिकको हार भने टार्न सकेन ।

डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले पनि ५ गोल गरेका छन् ।

डेनमार्क सन् १९९२ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो । यस अघि चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो ।

डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७८ आइतबार ००:००  ६ : ०६ बजे