८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बिकास निर्माणमा अनियमिता गर्नेलाई कारबाही हुन्छः मन्त्री आचार्य



बिष्णु कुमार आले, अर्घाखाँची ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बिकासको काममा कसैले अनियमितता गरेको पाइएमा कारबाही हुने बताएका छन् । मन्त्री आचार्यले आफ्नो गाउँ ठाउँमा कुन योजनालाई कहाँबाट कति रकम आएको छ, बिकास निर्माणको काम कसरी भैरहेको छ भन्ने बारे सबै नागरिकले थाहा पाउनुपर्ने बताउँदै योजनाको रकम सदुपयोग, दुरुपयोग के भैरहेको छ, जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारद्वारा विनियोजित बजेटको सहि रुपमा सदुपयोग भए मात्रै बिकासको कामले गति लिने बताए । मन्त्री आचार्यले जनताको करबाट संचित बजेटको सहि रुपमा सदुपयोग हुनुपर्ने भन्दै बिकासको काममा अनियमितता गर्ने कसैलाई नछाड्ने चेतावनी दिए ।

यसै बर्ष जिल्लाका ७ वटा मुख्य सडक कालोपत्रे हुने, घरघरमा पानीको धारा पुर्याउने गरि बजेट बिनियोजन गरिएको छ । चुनावको समयमा गरिएका अधिकांश प्रतिबद्धता पूरा भएको तर बाँकी रहेका प्रतिबद्धता पनि समयमै पुरा गर्ने बताए । वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, यातायात, सिंचाइ, खानेपानी र विद्युतको क्षेत्रमा धेरै काम गरेको उनको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँचीका संयोजक समेत रहेका मन्त्री आचार्यले नेकपा एमालेको लोकप्रियतालाई कसैले कमजोर पार्न नसक्ने ठोकुवा गरे । बाह्य शक्तिको चक्रव्युमा फसेर पार्टीका केही नेताहरु प्रचण्डको मोतियार हुन पुगे पनि चेत खुलेपछि उहाँहरूसँग पुःन घर फर्किनुको बिकल्प नभएको भन्दै मन्त्री आचार्यले सावधानीका साथ काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

स्वास्थ्य मापदण्ड अपनाएर सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला सचिव तोजबहादुर रायमाझी, जिल्ला सचिवालय सदस्यहरु युवराज श्रेष्ठ, श्रीकृष्ण भुसाल, रामबहादुर रायमाझी, रामचन्द्र पोख्रेल, मोतिजङ्ग रायमाझी, लिल बहादुर बि.क., विष्णु आचार्य, नारायण अर्याल, सफि मियाँ, सुशीला गैरे, शुष्मा श्रेष्ठ, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हिम बहादुर जि.सी. लेकाली लगायतको उपस्थिति थियोे । मन्त्री भएपछि पार्टीले आचार्यलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७८ शनिबार ००:००  ६ : ४५ बजे