७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

तीन दिनपछि एकतर्फी सञ्चालनमा आयो नारायणगढ- मुग्लिन सडकखण्ड



चितवन ।
पहिरो पन्छाएपछि तीनदिन पछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार चारकिलो ,पाँचकिलो, सेतिदोभान, घोप्टेभिर र कुरिनटारमा गएको पहिरोका कारण उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध बनेको थियो । बिहान सवा ९ बजे यी स्थानको पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा ल्याउन सकिएको ट्राफिक प्रमुख भगवानराज थापाले जानकारी दिए ।

सेती दोभानमा ठूलो पहिरो गएको र दासढुंगा नजिक ठूलो ढुंगा खसेकाले दुईतर्फी खुल्न अझै समय लाग्ने थापाले बताए । “एकतर्फी सञ्चालनमा ल्याएका छौं थापाले भने,” दुईतर्फी सञ्चालनमा आउन एकहप्ता नै लाग्ला ।” उनका अनुसार सेती दोभानमा पहाडनै खसेकाले सबै पहिरो पन्छाएर सञ्चालनमा आउन समय लाग्ने भएको हो । दासढुंगा नजिक रहेको ठूलो ढुंगा भने फुटाउने काम भइरहेको उनले बताए । हाल अत्यावश्यक काम र विवाह कार्यक्रमका बसहरु गन्तव्यतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारीको अत्याधिक चाप बढेकोले ट्राफिक प्रहरीले चालकलाई आफ्नो लेन अनुसार र ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७८ शनिबार ००:००  १२ : ५३ बजे