एजेन्सी ।
फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।
त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन । भीएआरबाट बुनिची अफसाइड देखिएका थिए ।
खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ ले आफ्नो बनायो । यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ ।
इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।
‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।
यस अघि बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो । इटालीले प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया