७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै बजारिएको ढुंगो



चितवन ।

नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ पहिरोसँगै ठूलो ढुंगा खस्दा सडक आधा ढाकेको छ । आडैको डाँडाबाट साँझ सात बजेतिर लेदोसहित ढुंगा खसेको थियो ।

त्यही ठाउँबाट एक–दुई दिनअघिदेखि साना ढुंगाहरू खस्न थालेको आडैमा चिया पसल चलाइरहेका धनबहादुर परियारले बताए ।‘म पानी लिन त्यहीँ गएको थिएँ । फर्किएको पाँच–दस मिनेट भएको हुँदो हो, पहिरो आइहाल्यो नि । धन्न बाँचियो भन्ने लागेको छ । यता–उता गाडी पनि थिए । पहिरो आउँदा ती भाग्यले जोगिए,’ धनबहादुरले भने ।

पहिरो आएपछि बन्द भएको सडक रातिदेखि एकतर्फी खुलाइएको छ । लेदो हटाइए पनि ठूलो ढुंगा अझै त्यहीँ छ । उक्त ढुंंगालाई ‘रक ब्रेकर’को सहयोगले मात्र फुटाउन सकिने चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।

उनका अनुसार उक्त ठाउँमा अहिले पनि लेदो र साना ढुंगा झर्ने क्रम रोकिएको छैन । उक्त ठूलो ढुंगालाई ‘रक ब्रेकर’मार्फत फुटाउने तयारी भइरहेको भरतपुर सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ११ : ०५ बजे