मायादेवी अनलाइन, चारनम्बर ।
सिद्धार्थ बैङ्क लिमिटेड कपिलवस्तुका कर्मचारीहरुले पनि सामाजिक सुरक्षा कोषको विरोध गरेका छन् । सरकारले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूलाई जबर्जस्ती कोषमा आबद्व गराउन खोजेकोमा आवद्ध हुन नसक्ने भन्दै विरोध जनाएका हुन् । जिल्लाको तौलिहवा, यशोधरा र गोरूसिंगे शाखाका कर्मचारीले बाणगंगा नगरपालिका जितपुरस्थित बैंककोे मुलद्धार अगाडी मास्क लगाएर विरोधको कालो ब्यानरसहित प्रदर्शन गरेको संघर्षरत कर्मचारीले बताएका छन् ।
खाइपाई आएको सुविधा घट्ने गरी अब्यवहारिक तवरले कोष आएको हुँदा यसले लाभभन्दा धेरै हानी गर्ने शाखा प्रमुखहरुले बताएका छन् । विद्यमान सुविधामा कमी आउने गरी सरकारले कोषमा समावेश हुन गरेको पहल ठिक नभएको विरोधमा उत्रिएको अन्य कर्मचारीहरु बताउँछन् । बैंकर्स क्लब बाणगंगाले पनी सिद्धार्थ बैंकको बिरोध कार्यक्रममा ऐक्यवद्धता जनाउँदै आवश्यक परेमा संयुक्त रुपमा संघर्षमा उत्रने जनाएको छ ।
श्रीमान र श्रीमती दुबैजना जागीरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने अवस्था कोषमा राखिनु, ५८ वर्षमा अवकाश हुने व्यवस्था विपरित ६० वर्षको उमेरपछि मात्र कोषमा जम्मा भएको रकम प्राप्त हुने र जागिरे अवधीमा कसैको निधन भएमा परिवारले आधा मात्रै पेन्सन पाउने व्यवस्था विद्यमान सुविधाको विपरित भएकाले कोषमा आबद्ध हुन नसकिने निजी क्षेत्रका बैंकका कर्मचारीको धारणा रहेको छ ।
यसअघि हिजो पनि सिद्धार्थ बैंकको प्रादेशिक कार्यालय बुटवलमा बुटवल, अमरपथ, योगिकूटी, भैरहवा लगायतका शाखाका कर्मचारीले पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नसक्ने भन्दै विरोध गरेका थिए । आफूहरुको विरोधको सुनुवाई नभए संघर्समा जाने कर्मचारीहरु बताउँछन् ।
केन्द्रीयस्तरमा अन्य बैंक तथा वित्तीय संस्था, जीवन तथा निर्जीवन बिमा कम्पनी, पर्यटन ब्यवसायले पनि कोषमा आवद्धता जनाउने सम्बन्धमा बिरोध जनाउन थालिसकेका छन् । सरकारी कोषको बारेमा सबैभन्दा पहिले नियमनकारी निकाय राष्ट्र बैंकले कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ तर नेपाल राष्ट्र बैंक र सरकार नियन्त्रित नेपाल बैंक,राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा भने त्यहाँका कर्मचारी युनियनले हालसम्म औपचारिक बिरोध कार्यक्रम गरेका छैनन् । ती बैंकमा रहेका विपक्षी राजनीतिक दल निकट युनियनले विज्ञप्ति निकालेर बिरोधसम्म गरेका छन् ।
प्रतिक्रिया