७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सबैलाई समेट्दै वडाध्यक्ष अर्यालः एकल र असहाय महिलालाई बाँडे मौरीका घार



मायादेवी अनलाइ, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले एकल र अति असहाय महिलालाई मौरीका घार वितरण गर्नु भएको छ । एकल, त्यही पनि अति विपन्न महिलाहरुलाई ब्यवसायीकरण गरी आयआर्जनमा टेवा पुगोस् भन्ने उद्धेश्यले मौरीको घार वितरण गरिएको हो ।

वडा कार्यालय हथौसामा विहीबार एक कार्यक्रमको आयोजना गरी प्रतिघार ८ हजार पर्ने १० घार मौरी १० जनालाई बाँडिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिनुभयो । लक्षित बर्गका कार्यक्रमले समुदायका हरेक ब्यक्ति र वर्गलाई छुनु पर्ने भन्दै सबैलाई समेट्न घार बाँडिएको अर्यालको भनाई छ ।

वडाध्यक्ष अर्यालले भन्नुभयो ‘एकल महिलाका समस्या धेरै छन् । त्यहीमाथि पनि अति विपन्न एकल आमा-दिदीलाई ठुलो समस्या छ । कम्तिमा पनि उहाँहरुलाई आय आर्जनमा टेवा पुगोस् भनेर मौरीको घार बाँडेका हौँ ।’

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष अर्यालले एकल महिलालाई अरु काम गर्न पनि समस्या हुने स्थितिमा रहेको भन्दै आयआर्जनमा मौरीपालन सजिलो ठानेर घार बाँडिएको प्रष्ट्याउनु भयो । मौरीका घार वितरण गरेसंगै उहाँहरुको क्षमता अभिवृद्धि गर्ने कार्य पनि गरिएको अर्यालले बताउनु भयो ।

यो कार्यक्रमले एकल आमा दिदीहरुलाई ब्यवसायीकरण गर्न मद्धत पुग्ने वडाको अपेक्षा छ । वडाको लगानी भए पनि स्थानीय नवज्योति वहुउदेश्यीय सहकारीले समन्वय गरेको सहकारीकी अध्यक्ष एवम् कार्यक्रमकी अध्यक्ष लक्ष्मी गौतमले बताउनु भयो । कार्यक्रममा वडा सदस्यहरु, नगरपालिकाका महिला तथा बालबालिका शाखा सहायक भगवती आचार्य, साना किसान सहकारीका अध्यक्ष शोभा अर्याल, शक्ति नेपाल अध्यक्ष लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन सहकारीका ब्यवस्थापक मिरा पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ९ : ४१ बजे