काठमाडौं ।
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ। यद्यपि, बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ। अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ। बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ।
प्रतिनिधिसभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न। प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ। सरकारले पनि लागेका लाञ्छना र प्राप्त उपलब्धिबारे सदनमार्फत जनतालाई स्पष्ट पार्न मौका मिलेको छ।
राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदै आएको थियो। ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको हो।
एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा बागमती, स्वतन्त्र र दृगनारायण पाण्डे लुम्बिनी, कांग्रेस अधिवेशनमा नयाँ प्रवेशी हुनेछन्।
प्रतिक्रिया