९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रचण्ड छेपारोले जस्तो रङ्ग फेर्दै हिँडिरहेका छन्ः प्रधानमन्त्री ओली



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्नुभयो । उहाँले लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्‍याएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्र भन्दा राजा नै राम्रो भन्दै हिँडेको बताउनुभयो ।

स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अध्यक्ष दाहालले छेपारोले जस्तो गरी स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले अस्ति राष्ट्रपति भन्दा त राजै राम्रो के–के भने क्यार, मान्छेले छक्क माने । किन छक्क मान्ने छेपारोले रङ्ग एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो खैरो खालको रङ्ग बनाउँछ । अर्को हरियोमा गयो भने हरियो हरियो रङ्ग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ । छेपारोले रङ्ग फेर्छ त । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ, कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकीहरू के हेरेर बसेका छन् रु किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र भन्दा त राजतन्त्रै राम्रो भन्न पुग्छ । कहिले विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गर्छ ।’

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल ुनिलवर्ण सङ्घारु कथाको पात्र जस्तो चरित्रको भएको दाबी गर्नुभयो । प्रचण्डको काम नै देशलाई बरबाद गर्ने भएको भन्दै उहाँले प्रचण्डलाई पनि पृथकतावादीहरूलाई राजनीतिको मूल धारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गलाई ल्याउन जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाको स्वार्थ नीति

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गर्नुभयो । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभइ स्वार्थ नीतिलाई केन्द्र भागमा राखेर काम गरेको दाबी गर्नुभयो । उहाँले आफ्ना एक जना प्रतिनिधिलाई जसरी भए पनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय राजनीतिक दल र तीनका नेताले स्वार्थ केन्द्रित राजनीति गरेका कारण राजनीतिक सिद्धान्त, वर्गीय राजनीतिक, गन्तव्य र उद्देश्यका सवालहरू ओझेल पर्दै गएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले बौद्धिक जगतलाई क्षणिक आवेश र उत्तेजनामा नआउन आग्रह गर्नुभयो । बुद्धिजीवीहरूलाई देश र जनताप्रति उत्तरदायी भएर आफ्ना अभिव्यक्ति दिन पनि उहाँले सुझाउनुभयो ।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ४ : २५ बजे