९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृषिको यान्त्रिकरणमा बुद्धभूमिः किसानले पाए मिनि टिलर, उत्पादन लागत कम गर्ने लक्ष्य



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ३२ किसानलाई मिनि टिलर वितरण गरिएको छ । साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरका ३२ किसानलाई उक्त मिनि टिलर वितरण गर्नुभएको हो ।

किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर बाडिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

चालु आवमा नगरले किसानका लागि आधुनिक कृषि सामग्री वितरणको कार्यक्रम ल्याएको भन्दै केही दिनमा अझै कृषियन्त्र वितरणको तयारी रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले नगरभित्र चाप कटर १५ जना, ब्रस कटर ७ जना, पम्प सेट ७ जना र मोटर दुई जनालाई ५०/५० अनुदानमा दिइएको बताउनुभयो ।

किसान स्वयमले यी सामग्री खरिद गरी भुक्तानीको लागि नगरपालिकामा बील पेश गरेपछि अनुदान रकम दिइने उहाँले बताउनुभयो । शाखा प्रमुख बेल्वासेका अनुसार मिनि टिलरका लागि ३५ हजार, चाप कटरका लागि २० हजार, ब्रस कटरका लागि १२ हजार ५ सय, पम्प सेटका लागि २३ हजार, मोटरका लागि १५ हजार र कम्बाइल मिलका लागि २२ हजार ५ सय रकम किसानले आफ्नो खातामा पाउने उहाँले बताउनुभयो ।

नगरपालिकाले किसानका लागि कोटा तोकेरै अनुदानका लागि मागको सूचना निकालेको थियो । स्थानीय र प्रदेश भित्र सूचिकृतमा रहेका सप्लार्यसबाट किसान स्वयमले सामग्री खरिद गरी आवश्यक अनुदान रकम पाएका हुन् ।

कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि अनुदानमा सामग्री दिइएको बेल्वासेले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो । किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उहाँले बताउनुभयो ।

यो बर्ष नगरले कृषिका लागि मासु पसल सुधार, डेरी सुधार, भकारो सुधार, मिनि टिलर, पानी तान्ने पम्पमा अनुदान दिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  १० : २१ बजे