९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पोर्चुगललाई स्तब्ध पार्दै बेल्जियम क्वाटरफाइनलमा



काठमाडौं ।
बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो। योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ। विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो।

हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो। थोमस मुनिएरले बायाँ विंगमा दिएको पासलाई थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन्।

पहिलो हाफमा पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन।

खेलको छैटौं मिनेटमा नै रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पास डिओगो जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो।

२५औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारेका थिए। रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन्।

दोस्रो हाफको सुरुवातमा नै चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिरिएका थिए। ५४औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए। ६१औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाले सहजै नियन्त्रणमा लिए।

८३औं मिनेटमा राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो। पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्यो।

८६औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो। इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिरिँदा पोर्चुगल प्रतियोगिताबाटै बाहिरियो।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ८ : २३ बजे