९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरियो, चेक रिपब्लिक क्वाटरफाइनलमा



काठमाडौं ।
चेक रिपब्लिक युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा पुगेको छ। हंगेरीको पुस्कास एरिनामा आइतबार राति भएको अन्तिम १६ को खेलमा नेदरल्याण्ड्सलाई २–० ले पराजित गर्दै चेक क्वाटरफाइनलमा पुगेको हो।

अब चेकले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्नेछ। डेनमार्कले शनिबार वेल्समाथि ४-० को जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।

चेकका लागि टोमस होलेस र प्याट्रिक शिकले एक/एक गोल गरे। पहिलो हाफमा गोलको थुप्रै अवसर सिर्जना गरेको नेदरल्याण्ड्सले दोस्रो हाफको सुरुवातमै डिफेन्डर म्याथिस डी लिग्टलाई गुमाएको थियो।

डच टोली १० खेलाडीमा समेटिएपछि चेकले दबाब सिर्जना गर्दै दुई गोल गर्न सफल भयो । ५५औं मिनेटमा टोलीका मुख्य डिफेन्डर लिग्टले हातले बल रोकेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले रातो कार्ड दिएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र लडेपछि शिकलाई रोक्ने क्रममा हातले बल रोकेका थिए । ६८औं मिनेटमा चेक रिपब्लिकले होलेसको गोलमार्फत् अग्रता लियो। कर्नरमा टोमस कालासले दिएको हेडर पासलाई फार पोस्टमा अनमार्क रहेका होलेसले हेडरमार्फत् सहजै गोल गरे।

८०औं मिनेटमा चेक रिपब्लिकले अग्रता दोब्बर बनायो। होलेसले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको पासलाई शिकले पहिलो टचमा नै गोल गर्दै चेकलाई क्वाटरफाइनल पुर्याए। उनको जारी प्रतियोगितामा यो व्यक्तिगत चौथो गोल हो।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ८ : २० बजे