९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा २० प्रतिशत रोपाइ सम्पन्न



मायादेवी अनलाइन, चारनम्बर ।
मानो रोपेर मुरी फलाउने आशामा बसेका कपिलवस्तुका किसानले यस वर्ष भने समयमै रोपाइ गर्न पाएका छन् । कोरोना माहामारीका कारण जारी निषेधाज्ञाका बीच पर्याप्त सिंचाइ सुविधा र मलखाद नभए पनि पटक–पटक समयमै बर्षा भएपछि कपिलवस्तुका किसानले धान रोपाइ गर्न थालेका हुन् ।

कपिलवस्तुमा कुल खेती योग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफल मध्ये ७२ हजार हेक्टरमा धान खेती हुने गरेकोमा हालसम्म २० प्रतिशत हाराहारीमा रोपाइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

वाणगंगाकी लक्ष्मी थारुले यस वर्ष समयमै पानी परेकाले धान रोपाइ सकिएको बताउनुभयो । यस वर्ष पानीको समस्या नभएकाले रोपाइमा समस्या नभएको उहाँले सुनाउनुभयो ।

राजमार्गको उत्तरका अधिकांश स्थानमा जेष्ठ महिनामै धानको विउ राखेका किसान असार पहिलो साता देखि लगातार बर्षा भएपछि रोपाइ सकिन थालेको छ भने दक्षिण क्षेत्रमा समेत शुरु भएको कृषि ज्ञान केन्द्रका अधिकारी बताउँछन् ।

तराईको अन्न भण्डारका रुपमा समेत परिचित कपिलवस्तुमा मौसमले साथ दिएर अहिलेकै अवस्था रहे असार मसान्त तथा साउनको पहिलो सातासम्म रोपाइ सम्पन्न हुने कषि ज्ञान केन्द्रको अनुमान छ ।

प्रकाशित मिति : १३ असार २०७८ आइतबार ००:००  ७ : ३७ बजे