गुल्मी ।
रेसुंगा नगरपालिका–८ तम्घासमा रहेको थ्रिडी पार्क दिसा गर्ने स्थानको रुपमा परिणत भएको छ। पार्क निर्माण भएको करिब दुई वर्ष पुग्दा पनि सञ्चालनमा आएको छैन ।
पार्कमा स्थानीयको मनपरि चलको छ । पार्कमा जानेहरुले फोहोर गर्ने, शौच गर्ने गरेको पाइएको छ। प्रवेशद्वार गेट भाँचिएको छ । अन्य संरचनाहरु पनि भत्किन थालेका छन् ।
रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो । पहिले लाँकुरी मञ्चको नाममा चिनिने उक्त स्थलको अहिले पहिचान गुमाएको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे बताउँछन् ।
विभिन्न संघ संस्था, संगठन र दलहरुले त्यस मञ्चमा उभिएर सरकारलाई खबरदारी गर्ने वर्षौंको इतिहास बोकेको लाँकुरी मञ्च भत्काएर नौटंकी गरिएको पाण्डको आरोप छ । उनले पार्कलाई पहिलेकै लाकुरी मञ्चमा स्थापित गर्नुपर्ने बताए ।
गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार पार्क परिसरमा जाँदा दिसा देखेपछि परिसरभित्र नगई फर्किएकी थिइन्। उनले पार्क सञ्चालनबारे बुझ्ने बताएकी छन् ।
प्रतिक्रिया