९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

डोलवर्ग चम्किदा डेनमार्क क्वाटरफाइनलमा, वेल्स ४-० ले पराजित



एजेन्सी । डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । मिकेल डाम्सगार्डको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए । खेलको ८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । जेनसनको पासमा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । माहेललाई फउल गरेपछि उनलाई सिधै रातो कार्ड दिईएको थियो ।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाए । आन्द्रेसको पासलाई उनले सदुपयोग गरेका हुन् । यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ । यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह एको उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रकाशित मिति : १३ असार २०७८ आइतबार ००:००  ६ : १४ बजे