बुटवल ।
महत्वाकांक्षी योजनाको रूपमा अगाडि सारिएको कालिगण्डकी(तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाका लागि कार्यालय स्थापना गरिएको छ। यसक्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित नेपाल सरकारका उपप्रधान, गृह एवं अर्थमन्त्री बिष्णु पौडेलले करिब डेढ दशकदेखि यस आयोजनाको विषय उठाउँदै आएका थिए।
बिहिबार मात्रै अर्थसहित गृह, उद्योग वाणिज्य तथा आपुर्ती, उर्जा, जलश्रोत तथा सिंचाई गरी ५ वटा मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री पौडेलले सोही आयोजना सञ्चालनका लागि शनिबार कार्यालयको शुभारम्भ गरेका हुन्। कार्यालयको शुभारम्भ गर्दै मन्त्री पौडेलले यो आयोजना रूपन्देहीको मात्र नभई नेपालकै नमुना आयोजनाको रूपमा अगाडि बढाईने बताए। कालिगण्डकी नदीलाई डाईभर्सन गरेर तिनाउ नदिमा मिसाई रूपन्देही, कपिलवस्तु र नवलपरासीका खेतियोग्य जमिन सिँचाई गर्ने र तिनाउमा नौकाबिहार मार्फत जल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यो आयोजना अगाडि बढाइने उनले बताए।
सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको मन्त्री पौडेलको भनाइ छ। कार्यालय शुभारम्भ भएसँगै अब आयोजना सञ्चालनका लागि डिपिआर निर्माणको काम सुरु गर्ने मन्त्री पौडेलले जानकारी दिए।
पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी ल्याएपछि रूपन्देहीको दक्षिणि क्षेत्रको उर्वर भूमीमा बाह्रै महिना सिँचाई गरि कृषि उत्पादन बढाउने सरकारको योजना छ।
बहुउद्देश्यीय आयोजना अन्तर्गगत पाल्पाको दोभानमा विद्युत ड्याम तयार हुनेछ भने सिँचाईका लागि दोभानदेखि रुपन्देहीको बेलबाससम्म ७ किलोमिटर लामो सुरुङबाट पानी ल्याइने छ। यसरी ल्याईएको पानी पाल्पाको रम्भासम्म आईपुग्दा अधिकतम ८२ घनमिटर प्रतिसेकेण्डको बहावमा बग्ने छ।
कालिगण्डकीको तल्लो तटीय क्षेत्रका लागि सुख्खायाममासमेत पानीको कुनै कमि नहुनेगरी डाईभर्सन गरिने मन्त्री पौडेलको दाबी छ। डाइभर्सनका कारण कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा वातावरणीय समस्या सिर्जना नहुने विज्ञहरुको सुझावको आधारमा नदी डाइभर्सनको अन्तरराष्ट्रिय मापदण्डलाई समेत टेकेर परियोजना अघि बढाउन लागिएको मन्त्री पौडेलले बताए।
करीब ९ मिटर चौडा सुरूङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाएर विद्युत् उत्पादनसँगै सिँचाईको व्यवस्था गर्ने लक्ष्य सरकारको छ। यो आयोजनाबाट दोभानमा पहिलो र बुटवल नजिकै बेलवासमा दोस्रो विद्युत् गृह निर्माण हुने गरी डिपिआर बन्दैछ।
पहिलो पावरहाउस तिनाउ ३ दोभानबाट ५४ मेगावाट र दोस्रो पावरहाउस बुटवल १३, बेलवासबाट ७२ मेगावाट गरि कुल १२६ मेगावाट विद्युत उत्पादन गरिने छ।
दोभानमा पहिलो विद्युत् गृहबाट आधा पानी तिनाउमा मिसाइने छ भने बेलवासमा बन्ने दोस्रो विद्युत् गृहबाट २७ किलोमिटर लामो नहर बनाएर तिनाउको पश्चिम क्षेत्र हुँदै कपिलवस्तुसम्म सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ। पश्चिममा कपिलवस्तुको बाणगंगा नदीसम्म यस्तो नहर बन्ने छ।
दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहरहुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका लागि उपयोग गरिने छ। त्यसका लागि सोह्र छत्तीस मौजालगायतका नहरहरुलाई समेत व्यवस्थित गर्ने योजना रहेको सिँचाइ विभागले जनाएको छ।
डाईभर्सन मार्फत कालिगण्डकीको पानी तिनाउमा खसेपछि रूपन्देहीमा हाल सिँचाई भईरहेको क्षेत्रभन्दा ५३ हजार हेक्टर बढी क्षेत्रमा सिँचाई सुविधा पुग्ने छ। त्यस्तै कपिलवस्तुको पनि ५४ हजार गरी कुल १०७ हजार हेक्टर खेतीयोग्य जमिन सिंचाई गर्ने सरकारको लक्ष्य छ।
कुल १३८ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको लागि विद्युत उत्पादनसम्म करीब ६४ अर्ब र सिंचाइ संरचना र सिंचित क्षेत्र विकासका लागि करिव ७४ अर्ब लागत अनुमान गरिएको छ।
प्रतिक्रिया