९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लगातारको वर्षाले नदीहरुमा बाढीको जोखिम, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह



काठमाडौँ ।

लगातार वर्षा भइरहेकोले आज (शनिबार) देशका विभिन्न नदीहरुमा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स(साना सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ। तर पानी पर्ने क्रम जारी रहेकोले जुनसुकै बेला नदीमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो। पश्चिमका राप्ती र बबई नदीमा बहाव सामान्य रहने पूर्वानुमान महाशाखाको छ।

तर कन्काई, कमला, बागमती जलाधारका स-साना सहायक नदीमा क्षणिक, मध्यमरभारी वर्षा भई बहाव बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ। आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, धनकुटा, ताप्लेजुङ, संखुवासभासहित प्रदेश २ को बारा, धनुषा,सिरहा, सप्तरी र बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चिवतन, मकवानपुर, काठमाडौँ र सिन्धुली लगायतका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी तथा लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ त्यसैगरी कर्णाली प्रदेशको जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपासका जिल्ला भएर बहने स(साना नदी जलाधारमा बहाव बढ्ने र
केहीमा आकस्मिक बहाव  (Flash Flood) हुन सक्ने पूर्वानुमान महाशाखाको छ। काठमाडौँ उपत्यकासहितका क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ११ : १३ बजे