९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

गोल्डेन बुटका मुख्य दाबेदार रोनाल्डो, पछिपछि कोको छन् ?




एजेन्सी ।

युरोकप २०२० च्याम्पियसिपको शनिबारदेखि प्रिक्वार्टरफाइनल खेल सुरु हुँदै छ । समूह चरणमा कुल ५१ मध्ये ३१ खेल सम्पन्न भएका छन् । समूह चरणको खेल समाप्तिसम्म ९२ गोल भएको छ । जसमध्ये आठ गोल आत्मघातीका रूपमा रहेको छ । प्रतिखेल ३४ मिनेटमा एक गोल भएको देखिन्छ । ४६–६० मिनेटमा सर्वाधिक २२ र ६१–७५ मिनेटसम्म १८ गोल भएको छ । मेजर फुटबल प्रतियोगिताको मुख्य आकर्षक नै गोल्डेन बुट कसले पाउने भन्ने हो । चालू युरोकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पाँच गोलका साथ शीर्ष स्थानमा छन् । अहिलेसम्म पाँच गोल गर्ने उनी मात्र एक्लो खेलाडी हुन् । रोनाल्डोलाई अन्य खेलाडीले पनि चुनौती दिइरहेका छन् । तीन गोल गर्ने पाँच तथा दुई गोल गर्ने १२ खेलाडी छन् ।

क्रिस्टियानो रोनाल्डो (पाँच गोल)
पाँचपटकका फिफा बालोन डिअर विजेता क्रिस्टियानो रोनाल्डो चालू युरोकप २०२० कै गोल्डेन बुुट जित्ने खेलाडीको अग्र सूचीमा छन् । पोर्चुगलका कप्तान तथा स्ट्राइकर रोनाल्डो उत्कृष्ट फर्ममा छन् । युरोकपकै ग्रुप अफ डेथ समूह एफमा रहेको पोर्चुगल नकआउट चरण पुग्न कप्तान रोनाल्डोकै धेरै योगदान रहेको देखिन्छ । रोनाल्डोले तीन खेलमा पाँच गोल गरेका छन् । हंगेरी, जर्मनी तथा फ्रान्सविरुद्ध रोनाल्डोले सबै खेलमा गोल गरेका छन् । यसका साथै उनले हंगेरीमाथि ३–० को जित निकाल्दा एकपटक असिस्ट पनि गरेका थिए । रोनाल्डोले पाँचमध्ये तीन गोल पेनाल्टीबाट गरेका थिए । हंगेरी एक तथा फ्रान्सविरुद्ध दुई पेनाल्टी गोल गर्दै युरोकपमा व्यक्तिगत पाँच गोल पुर्‍याउँदै गोल्डेन बुटको प्रमुख दाबेदारी खेलाडीका रूपमा आफूलाई उभ्याएका छन् । रोनाल्डोले तीन खेलमा दुई सय ७० मिनेट मैदानमा बिताएका छन् । ११ पटक गोलका लागि प्रयास गरेका रोनाल्डोले युरोकपमा व्यक्तिगत १४ गोल पुर्‍याएका छन् । यसै प्रतियोगितामा फ्रान्सका मिचेल प्लाटिनीको नाममा रहेको सर्वाधिक नौ गोलको रेकर्ड उनले तोडेका छन् । यसका साथै इरानी खेलाडी अली दाईले विश्व फुटबलमा राखेको एक सय ९ गोलको विश्वकीर्तिमानसमेत रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोलको बराबरी गर्दैै पूरा गरेका थिए ।

प्याट्रिक सिक (तीन गोल)
चेक रिपब्लिकका स्ट्राइकर प्याट्रिक सिक पनि गोल्डेन बुटकै दाबेदार खेलाडीमा छन् । चेक रिपब्लिकले समूह डीमा गरेका तीन गोल नै सिककै नाममा छ । स्कटल्यान्डसँगको खेलमा सिकले युरोकपकै उत्कृष्ट तथा लामो दूरीबाट गोल गरेका थिए । मैदानको मध्यभागबाट सिकले सीधै स्कटल्यान्डको गोलपोस्टमा गोल गर्न सफल भए । स्कटल्यान्डविरुद्धको खेलमा उत्कृष्ट फिनिसिङ, ड्रिब्लिङ तथा गोल प्रयास गरेका सिकले आफ्नो फर्मलाई अर्को खेलमा पनि निरन्तरता दिए । क्रोएसियासँगको बराबरी नतिजामा उनले नै एक गोल गरेका हुन् । प्रतियोगितामा सिकले एक हेडिङ तथा दुईपटक दायाँ खुट्टाले गोल गरेका छन् । तीन खेलमा दुई सय ३६ मिनेट बिताएका सिकले दशपटक गोल प्रयास गरेका देखिन्छन् ।

इमिली फोर्सबर्ग (तीन गोल)
स्विडेन समूह इको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । यसक्रममा स्विडेनले विपक्षी पोस्टमा चार गोल ग¥यो । स्विडेनको चारमध्ये तीन गोल स्ट्राइकर इमिली फोर्सबर्गले गरेका छन् । पहिलो खेलमा स्पेनसँग दबाबमा रहेको स्विडेनले बराबरी नतिजा आत्मसात् गरेको थियो । महत्वपूर्ण खेलमा स्विडेनले स्लोभाकियालाई १–० र खेलको अन्तिम समयमा पोल्यान्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा फोर्सबर्ग नै नायक भए । उनले स्लोभाकियाको पोस्टमा एक तथा पोल्यान्डविरुद्ध दुई निर्णायक गोल गर्न सफल भएका थिए । तीन खेलमा फोसबर्गले दुईपटक दायाँ तथा एक पटक बायाँ खुट्टाले गोल गरेका छन् । मैदानमा दुई सय ५१ मिनेट बिताएका फोसबर्गले आठपटक गोल प्रयास गरेका छन् ।

रामेलु लुकाकु (तीन गोल)
बेल्जियमले समूह बीको शीर्ष स्थानमा रहँदै प्रिक्वार्टरफाइनल स्थान सुरक्षित गर्दा विपक्षी पोस्टमा सात गोल गरेको छ । जसमध्ये इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले मात्र तीन गोल आफ्नो नाममा लेखाएका छन् । रसियाविरुद्धको महत्वपूर्ण खेलमा उनले दुई गोल गरे । फिनल्यान्डविरुद्ध एक गोल गरेका लुकाकुले डेनमार्कसँगको प्रतिस्पर्धामा गोल गर्न सकेनन् । लुकाकुले २ सय ६४ मिनेट मैदानमा बिताउँदा चारपटक निश्चित गोल प्रयास गरेका थिए । डाटाअनुसार उनले प्रति ८८ मिनेटमा एक गोल गरेका छन् । लुकाकुले दुई दायाँ तथा एक बायाँ खुट्टाले गोल गरेका छन् । यसै आधारमा लुकाकु गोल्डेन बुटको दाबेदार खेलाडीमा छन् ।

जर्विनिओ विज्नाल्डम(तीन गोल)
समूह चरणमा नेदरल्यान्ड्सले सर्वाधिक आठ गोल गरेको छ । आक्रामक खेल्न रुचाउने नेदरल्यान्ड्स समूह सीको विजेता हो । नेदरल्यान्ड्सको आठमध्ये तीन गोल स्ट्राइकर जर्जिनिओ विज्नाल्डमले गरेका छन् । पोर्चुगलका रोनाल्डोझैँ विज्नाल्डमले कप्तानीमा समेत कुल भूमिका निर्वाह गरिरहेका छन् । युक्रेनसँगको एक गोल गरेका विज्नाल्डमले युरोकपमा पहिलोपटक सहभगिता जनाएको नर्थ मेसोडोनियाविरुद्ध दुई गोल गर्न सफल भए । दुई सय ७० मिनेट मैदानमा बिताएका विज्नाल्डमले १० पटक गोल प्रयास गरेका छन् । उनले दुईपटक बायाँ तथा एकपटक दायाँ खुट्टाले गोल गरेका छन् ।

रोवर्ट लेवान्डोस्की (तीन गोल)
स्विडेनसँग अन्तिम समयमा पराजित भएको पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्की पनि गोल्डेन बुटकै दाबेदार खेलाडीमै छन् । यद्यपि पोल्यान्ड प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह चरणमा तीन खेलमा तीनै गोल गरेका लेवान्डोस्कीले गोल्डेन बुट दाबेदारको सूचीमा राखेका छन् । लेवान्डोस्कीले हेडिङ, बायाँ खुट्टा र दायाँ खुट्टाले गोल गरेका छन् । उनले सबै गोल डिबक्स भित्रै गरेका हुन् । मैदानमा दुई सय ७० मिनेट नै बिताएका लेवान्डोस्कीले आठपटक गोल प्रयास गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ८ : २४ बजे