९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

‘साइकलले कक्षा ८ का छात्रामा ल्याएको खुशी’



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका २ सय ४७ छात्रामा अहिले खुशीको उमंगले छोएको छ । कक्षा ८ मा अध्ययन गर्ने ५ वडाका यी छात्रामा नगरपालिकाबाट साइकल पाएपछि शैक्षिक जीवनमा बदलाव आउने अपेक्षा छ ।

नगरपालिकाले मधेसी समूदायको बाहुल्यता रहेको वडा नं. ५, वडा नं. ६, वडा नं. ७, वडा नं. ८ र वडा नं. १० का कक्षा ८ मा पढ्ने सबै छात्रालाई साइकल बाँडेको हो ।

वडा नं. ५ को नेपाल राष्ट्रिय मावि चौरीमा अध्ययन गर्ने दीपा केवटले यस्तै अपेक्षाका साथ भनिन्, ‘अब कक्षा १० सम्म सजिलै पढ्न पाइने भो । घरबाट पैदल हिडेरै स्कूल जाने बाध्यता हट्ने भो ।’

निशा जस्तै बुद्धभूमिका २ सय ४७ छात्राको मुहारमा एक न एक खुशीको बहार देख्न सकिन्थ्यो । बुद्धभूमि नगरपालिकाले तीन दिन लगाएर मधेसी समुदायको बसोबास रहेको दक्षिणी भेगका ५ वडाका २ सय ४७ जनालाई साइकल वितरण गरेपछि छात्राको मुहारमा खुशी देखिएको हो ।

जिल्लामा मधेसी समुदाय बसोबास गर्ने क्षेत्रमा विद्यालय छाड्ने छात्राको संख्या अधिक छ । छात्राको हुर्कदो उमेरसंगै घरपरिवारले विद्यालयबाट बञ्चित गराउँदै आएका छन् । कक्षा १० सम्म पढ्न छात्राले घरपरिवारबाटै ठूलो विद्रोह गर्नुपर्छ । जसले घरपरिवारसंग विद्रोह गर्न सक्छ उसले जसोतसो कक्षा १० सम्म पढ्न पाउँछ । जसले सक्दैन त्यसले विद्यालय छाडेर बस्नु पर्छ । बुद्धभूमि वडा नं. ७ मा रहेको फुलकली माध्यमिक विद्यालयका प्रिन्सिपल चन्द्रमान यादवले कक्षा ८ मा ३५ विद्यार्थी रहेकोमा अहिले १८ जना मात्र छन् । छात्राको संख्या अत्याधिक रहेको कक्षामा सबैले कक्षा छाड्दा यस्तो समस्या देखिएको हो ।

सरकारले माध्यमिक तहसम्मको पढाईलाई निशुल्क दिएपनि तराई क्षेत्रमा विद्यालय छाड्ने छात्राको संख्या डरलाग्दो तरिकाले बढेको छ । सरकारी र गैरसरकारी संघ संस्थाले यो विषयमा करोडौंको बजेट खर्च गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरेपनि विद्यालय छाड्ने छात्राको संख्या घटेको छैन् । स्थानीय सरकारले पनि विकास भनेकै बाटोघाटो मात्र हो भन्ने सोचले यता तिर लगानी बढाएको देखिदैन् ।

तर, बुद्धभूमि नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत चालु आवमा छात्रालाई साइकल वितरण गरेर विद्यालय छाड्ने दर घटाउने प्रयास थालेको छ । मधेसी समुदायका छोरीहरु शिक्षाको पहुँचबाट बञ्चित हुने विद्यमान परिस्थितिलाई मध्यनजर गरेर कक्षा ८ मा पढ्ने छात्रालाई साइकल वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठ बताउँनुहुन्छ । कक्षा ८ का छात्रालाई मात्र किन दिइयो साइकल ? भन्ने मायादेवीको प्रश्नमा नगर प्रमुख श्रेष्ठले प्रष्ट पार्दै भन्नुभयो, ‘कक्षा ८ मा छोरी पढाउन सके साइकल पाइन्छ भन्ने आशा परिवारमा लाग्ने र कक्षा ८ मा पाएको साइकलको प्रयोग अझै दुई बर्षसम्म गर्नुपर्छ भन्ने मान्यताले एसईईसम्म छात्राले पढ्न सक्छन् भन्ने हाम्रो अपेक्षा हो । धेरै सोच विचार र भविष्यको प्रभाव हेरेर यो कार्यक्रम ल्याइएको हो । हेरौं आगामी दिनमा यस्तो प्रभाव कस्तो पर्छ ।’

सिफारिस समितिका संयोजक समेत रहनुभएका नगर प्रमुख श्रेष्ठले नगरको दक्षिणी भेगका बिद्यालयमा अध्ययन गर्ने माध्यमिक तहका छात्राहरुमा बिद्यालय छोड्ने दर बढि भएकाले सो दरलाई न्यूनिकरण गर्न तथा माध्यमिक तहको शिक्षा प्रति आकर्षित गर्ने उद्देश्यले छात्राहरुलाई साईकल बितरण गरिएको पनि प्रष्ट पार्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको उद्धेश्य सामाजिक विकासमा लगानी बढाउने रहेकाले यस्तो प्रकारको कार्यक्रम ल्याएको बताउनुभयो । सचेतनाका हिसाबले पछि परेका, विभिन्न कारणले बञ्चितिकरणमा परेका समुदायलाई माथि उठाउनका लागि यो कार्यक्रम लागू भएको भन्दै नगरमा यसै बर्ष देखि सञ्चालनमा आएको उहाँले बताउनुभयो । वेरोजगारका लागि रोजगार र ग्रामीण क्षेत्रका जनतालाई विकास निर्माणको पहुँचसम्म ल्याउनु आफुहरुले उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

साइकल वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, सिफारिस समितिका सदस्य द्धोय देवी बेल्वासे, सुशीला दर्लामी ।

प्रकाशित मिति : १२ असार २०७८ शनिबार ००:००  ७ : २५ बजे