कपिलवस्तु ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले कपिलबस्तुको बांणगंगामा डायलाईसिस सेन्टर स्थापना गर्ने भएको छ । कपिलबस्तु जेसिससंगको सहकार्यमा उक्त डायलाईसिस सेन्टर स्थापना हुन लागेको हो ।
डायलाईसिस सेन्टर स्थापनाका लागि गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था र कपिलबस्तु जेसिसका बिच बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरीएको गौतमबुद्ध सामुदायिक स्वस्थ्य संस्थाका अध्यक्ष एजाज आलमले बताए ।
डायलाईसिस सेन्टर सन्चालनका लागि कपिलबस्तु जेसिसले गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका लागि आफ्नो स्वमित्वमा रहेको भवन उपलब्ध गराउने र गौतमबुद्ध मुटु अस्पतालले डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु गर्ने सहमती भएको जनाईएको छ ।
उक्त डायलाईसिस सेन्टरमा सूरुमा १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने अध्यक्ष एजाज आलमले बताए ।
अध्यक्ष आलमले कपिलबस्तुमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको बचत हुने तथा डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए ।
यस अघि उक्त स्वास्थ्य संस्थाले पाल्पाको तानसेन,दाङको लमही र स्याङजाको वालिङमा डायलाईसिस सेन्टर स्थापना गरि सकेको छ । भने बुटवलमा समेत गरी ३ सय ५० बढी किडनीका बिरामीहरुले डायलाईसिस गराई रहेका छन् ।
करिब ५ करोडको लागतमा १० वटा मेशिन जडान गरि शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० जना र ९० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।
हाल कपिलबस्तु जिल्लाबाट ७२ जना विरामी नियमित डायलाईसिसको लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेको र अव उनीहरुले कपिलबस्तु मै डायलाईसिस गर्न पाउने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया