१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जारी युरोकप खेलिरहेका रोनाल्डोले बनाए यति धेरै किर्तिमानी



एजेन्सी । कोरोना भाईरसको महामारी बाबजुत युरोपियन च्याम्पियनसिपको १६ औं संस्करण युरोपको ११ शहरमा भईरहेको छ ।
युरोकपको जारी संस्करणको नकआउट चरणमा पुग्ने टिमको समेत तय भईसकेको छ । नकआउट चरण शनिबारबाट सुरु हुनेछ ।

युरोकपको समूह चरण सकिदा सर्वाधिक चर्चामा रहे पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । साविक विजेता पोर्चुगललाई नकआउट चरणमा पुर्याउन रोनाल्डोको योगदान महत्वपूर्ण रह्यो ।३६ वर्षीय रोनाल्डोले पोर्चुगललाई अन्तिम १६ को यात्रा तय गराउदा थुप्रै कीर्तिमान समेत बनाए । केहि कीर्तिमानमा रोनाल्डोले बराबरी गरे । नकआउट चरणको खेलपछि रोनाल्डोले थप केहि कीर्तिमान भङ्ग गर्ने पक्का छ ।

रोनाल्डोले बनाएको कीर्तिमानहरु :

युरोकपमा सर्वाधिक गोल –

रोनाल्डोले यस संस्करणबाट युरोकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।रोनाल्डोले फ्रान्सेली लिजेण्ड मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।जारी प्रतियोगिताको ३ खेलमा ५ गोल गरिसकेका रोनाल्डोले युरोकपमा आफ्नो गोल संख्या १४ पुर्राएका छन् ।

रोनाल्डोले प्लाटिनीको कीर्तिमान तोड्न पाँच युरोकप खेल्नु परेको छ । एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान प्लाटिनीको नाममा रहेको छ । उनले एकै संस्करण (सन् १९८४) मा ९ गोल गरेका थिए । रोनाल्डोलाई यस युरोकप प्लाटिनीको कीर्तिमान तोड्ने अवसर रहनेछ ।

पाँच संस्करणको युरोकप खेल खेलाडी –

रोनाल्डो पाँच फरक संस्करणको युरोकप खेल्ने पहिलो खेलाडी हुन् । समूह चरण अन्तर्गत हंगेरीविरुद्ध मैदान उत्रदै रोनाल्डोले पाँच संस्करणको युरो खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले यस अघि चार संस्करणको युरोकप खेलेका थिए । रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।

पाँचै संस्करण गोल –

रोनाल्डो लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत हुन् । रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा क्रमश १,३ र ३ गोल गरेका थिए ।

यस संस्करणमा भने रोनाल्डोले ५ गोल गरिसकेका छन् । उनले हंगेरी र फ्रान्सविरुद्ध दुई दुई गोल गर्दा जर्मनीविरुद्ध एक गोल गरेका हुन् ।

दुई ठुला प्रतियोगिता सर्वाधिक गोल –

रोनाल्डोले दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका हुन् ।  

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे ।   रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् ।

यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए । जर्मनीका लिजेण्ड गर्ड मुलर १८ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

देशका लागि सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी –

रोनाल्डो पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गर्न सफल भए ।

रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।

फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्  ।  रोनाल्डोले १ सय ७८ खेलमा १ सय ९ गोल गरेका हुन् ।

रोनाल्डोले नकआउट चरणमा एक गोल गरे दाइको कीर्तिमान भङ्ग गर्ने छन् ।

इरानी दाइले सन् १९९३ देखि २००६ सम्म इरानका लागि खेल्दै १ सय ९ गोलको कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ७ : ०९ बजे