एजेन्सी ।
बेल्जियम समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसअघि ६५ औं मिनेटमा लुकाकुको गोलले मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए । तर, खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । उनले केभिन डे ब्रुएनाको पासलाई सदुपयोग गरे ।
यस जितसँगै समूह बी को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो ।पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो ।
फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो ।पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।पहिलो खेलमा डेनमार्कलाई १-० ले हराएको फिनल्याण्ड दोस्रो खेलमा रुससँग १-० ले नै पराजित भएको थियो ।
प्रतिक्रिया