१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

देउवाको सक्रियताः आज लुम्बिनीसहित ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै



काठमाण्डौँ ।
भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।

शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्।देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भने बमोजिम अहिले छलफल चलिरहेको बताइएको छ ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्।आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए।

देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुनस् एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन्।

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन्। यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दावी गरिरहेका छन्।

उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन्। उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका थिए।

आफ्नो समूहलाई एकजुट बनाउँदै लैजान देउवालाई उनीनिकटका केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन्। निधि र श्रेष्ठलाई पनि साथै लिएर अघि बढे मात्रै महाधिवेशन जित्न सकिने र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग पनि लिनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूले राखेका छन्।

देउवाले सबैको कुरा सुनेर आफ्नो समूहभित्र छलफल गरी सभापतिमा उम्मेदवारी दिनेबारे औपचारिक घोषणा गर्ने बताइरहेका छन्।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ९ : १२ बजे