एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरुले पहिलो जित निकालेको छ ।सोमबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गर्दै पेरुले पहिलो जित निकालेको हो ।पेरुलाई जित दिलाउन सर्जियो पेनाले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
कोलम्बियाका मिगुएल बोर्जाले एक गोल फर्काए ।खेलको १७ औं मिनेटमा पेनाले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ५३ औं मिनेटमा बोर्जाले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ६४ औं मिनेटमा कोलम्बियाका एरी मिनाले आत्मघाती गोल गरेपछि पेरु २-१ ले विजयी भयो ।यस जितसँगै समूह बी को पेरुले २ खेलमा ३ अंक जोडेको छ । पेरु समूहको तेस्रो स्थानमा रहेको छ ।कोलम्बियाले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो हार व्यहोरेको कोलम्बिया दोस्रो स्थानमा रहेको छ ।यसै समूहको अर्को खेलमा भेनेजुएला र इक्वेडरले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।बराबरीसँगै चौंथो स्थानको भेनेजुएलाले ३ खेलमा २ अंक जोडेको छ ।पुछारको इक्वेडरले २ खेलमा १ अंक जोडेको छ ।
प्रतिक्रिया