बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाल टेलिकमले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा आईपी टिभी सेवा शुरु गरेको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबार देखि एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका रूपन्देहीको भैरहवा, बुटवल, पाल्पाको तानसेन, गुल्मीको तम्घास, अर्घाखाँचीको सन्धिखर्क, नवलपरासी, कपिलवस्तुको तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।
नेपाल टेलिकम अर्घाखाँचीका शाखा प्रमुख तथा ईन्जिनियर गोबिन्द पराजुलीले सदरमुकाम सन्धिखर्कमा सेवा जडान गरिएपछि सेवाग्राही खुसी भएको बताए । सेवाग्राहीको माग अनुसार जडान गर्न सकिएको छैन तर एक दुई दिनमा माग गरिएका सबै सेवाग्राहीको घरमा सेवा पुग्ने उनले बताए ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए ।
टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने निर्देशक उपाध्यायले बताए ।
हाल वितरित एनटी टिभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका छन् । यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुनेछ ।
हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।
नेपाल टेलिकमले २०७७ पुष १७ गतेमा सर्वप्रथम एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा मात्र पनि उपलब्ध छ । अप्टिकल फाईवर जडान नगरिएका ग्रामिण क्षेत्रमा पनि अप्टिकल फाईवर जडान गरि सेवा पुराउने उदेश्यले काम अघि बढाईएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले जनाएको छ ।
प्रतिक्रिया