बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा ८ मा रहेको सिलिङखोलाले बगाएर ल्याएको शवको सनाखद हुन नसक्दा अन्त्येष्टिमा समस्या भएको छ । अन्दाजी २५-२६ बर्ष उमेरको देखिने पुरूषको शव अविरल बर्षासँगै सिलिङखोलामा आएको बाढिले तीन दिन अगाडि बगाएर ल्याएको थियो । शवलाई अहिले दाङको लमई अस्पतालमा राखिएको सातमारा प्रहरी चौकी प्रमुख देब बहादुर केसीले जानकारी दिए ।
सनाखद हुन नसक्दा शवको पोष्टमाट्म गर्न पनि समस्या भएको छ । शवको चारैतिर सोध्दा बुझ्दा पनि नाम ठेगाना खुल्न सकेको छैन । खोलाले बगाएर रूखको जरामा अड्किएको अवस्थामा मृत पुरूषलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले सवलाई खोलाबाट बाहिर निकालेका थिए ।
घटनाको प्रकृति हेर्दा कतै टाढाबाट खोलाले बगाएर ल्याएको भएपनि चोटपटक हुनुपर्ने तर मृतक युवाको शरिरमा कुनै चोटपटक नदेखिएका कारण शव शितगंगा नगरपालिका भित्रको तथा बाहिरबाट घुमफिर गर्न आउदा नजिकैबाट खोलाले बगाएको हुन सक्ने प्रहरी र स्थानियले अनुमान गरेका छन् ।
तीन दिन बितिसक्दा पनि मानिस हराएको तथा मेरो आफ्नो मान्छे भन्दै कोही खोजतलास गर्न नआएको सातमारा प्रहरी चौकिले जनाएको छ । तर शवको पहिचान हुन नसकेपछि प्रक्रिया पुराएर स्थानियतहको जिम्मा दिईने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया